२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

ठाकुरापुर श्री चण्डेश्वरी भवानी मन्दिरमा आयोजना हुने ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा


२३ आश्विन २०८३ शुक्रबार ००:००  

0
Shares

बाणगंगा।

कपिलवस्तुको बाणगंगा –४ ठाकुरापुरस्थित श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। मन्दिरको प्राणप्रतिष्ठा तथा अक्षयकोष स्थापना गर्ने पवित्र उद्देश्यले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो। ज्ञान महायज्ञले धर्म, संस्कार र आध्यात्मिक चेतनाको उज्यालो फैलाउँदै सामाजिक सद्भाव र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने बताईएको छ ।

महायज्ञ नजिकिँदै गर्दा मन्दिर परिसरमा तयारीका काम तीव्र पारिएको छ। मन्दिरको साजसज्जा, सरसफाइ, आवश्यक निर्माण तथा व्यवस्थापनका काम भइरहेका छन्। मूल समारोह समिति, विभिन्न उपसमिति र स्थानीयवासी भक्तिभावका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय भएका छन्। सामूहिक सहयोग, श्रमदान र आपसी समन्वयले मन्दिर परिसरमा धार्मिक उत्सवको रौनक बढ्दै गएको छ।
मूल समारोह समितिका संयोजक मुनाराम चालिसेका अनुसार महायज्ञलाई भव्य, सभ्य, व्यवस्थित र उद्देश्यअनुरूप सम्पन्न गर्न समिति तथा उपसमितिका पदाधिकारी, सदस्य र स्थानीयवासी हार्दिकतापूर्वक जुटिरहेका छन्। धार्मिक आस्थालाई सामाजिक एकता र सेवासँग जोड्ने लक्ष्यसहित सबै पक्षको सहयोग र सहकार्यमा तयारी अघि बढाइएको संयोजक चालिसे जानकारी दिनुभयो।

महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी स्थानीय समुदायको आस्था, संस्कृति र आपसी सद्भावलाई थप सुदृढ बनाउने अवसरका रूपमा नगरबासी तथा सरोकारवाला निकायले लिएका छन्। मन्दिरको दीर्घकालीन संरक्षण, नियमित सञ्चालन र धार्मिक गतिविधिलाई व्यवस्थित बनाउन अक्षयकोष स्थापना गर्ने लक्ष्य समेत राखिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३ शुक्रबार ००:००  ९ : २८ बजे