२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

धान पाक्ने बेला रोगको प्रकोप, किसान चिन्तामा



नेपालगञ्ज । बाँकेमा पाक्न लागेको धानबालीमा मरुवा र खैरो थोप्ले रोगको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन् । धानका बोट सुक्न थालेपछि उत्पादन घट्ने चिन्ता बढेको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लाका विभिन्न स्थानबाट धानमा रोग लागेर बोट सुक्न थालेको गुनासो आएको छ । खेतको निरीक्षण गर्दा केही स्थानमा मरुवा र केहीमा खैरो थोप्ले रोगको संक्रमण देखिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार केही दिनअघि परेको भारी वर्षा र हावाहुरीका कारण पाक्न लागेको धान भिजेर ढलेको र त्यसपछि चर्को घाम लाग्दा रोगको संक्रमण देखिएको हो । नेपालगन्ज, डुडुवा र जानकीलगायतका स्थानीय तहमा यस्तो समस्या देखिएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई रोगको पहिचान र व्यवस्थापनका लागि प्राविधिक सहयोगसमेत गरिरहेको जनाएको छ ।

डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले धानका पातमा खैरो तथा हरियो रङका पानीले भिजेजस्ता थोप्ला देखिने र संक्रमण बढ्दै जाँदा बोट सुक्ने समस्या देखिएको बताउनुभयो । यस वर्ष धान उत्पादन बढ्ने अपेक्षा गरे पनि पाक्ने बेलामा रोग देखिएपछि चिन्ता बढेको उहाँको भनाइ छ ।

धानमा रोग देखिएको जानकारी वडा कार्यालय र गाउँपालिकाको कृषि शाखामा गराए पनि रोकथामका लागि आवश्यक पहल नभएको बुढाथोकीले गुनासो गर्नुभयो ।

नेपालगन्ज–१९, सुइयागाउँका किसान ललवा माहुतको धानबालीमा पनि यस्तै समस्या देखिएको छ । फल लाग्ने बेला परेको भारी वर्षा र हावाहुरीले धान ढलाएको र अहिले बोट पहेँलिँदै सुक्न थालेको उहाँले बताउनुभयो । यसले उत्पादन घट्ने चिन्ता बढाएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शर्माले जिल्लाका केही धानखेतमा रोगको संक्रमण देखिएको जानकारी आए पनि क्षतिको यकिन विवरण प्राप्त नभएको बताउनुभयो । अहिले स्थानीय तहसँग समन्वय गरी रोगको अवस्था र क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धानखेती हुने गरेको छ । यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३ शुक्रबार ००:००  ८ : ०४ बजे