८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुका किसानको खेतबारीमै पुगे कृषिमन्त्री भुसाल



कपिलवस्तु ।
तरकारी खेतीको पकेट क्षेत्र बुद्धभूमि-१० झलवामा कृषि मन्त्री आउने भने पछि कृषकहरू हँसिला देखिन्थे । कसैले स्थानीय उत्पादन भएका काँक्रा देखी खरबुजा खुवाउने तयारी गरेको थिए । तयारी गर्दा गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल टपक्कै आउनु भयो । कृषकले मन्त्री भुसाललाई खेती गरिएका क्षेत्रको अवलोकन गराउँदै थिए । कृषक कृष्ण मोहन केवटले भन्नु भयो ‘कृषि अनुदान ठगुवा किसानको हातमा जान्छ । कहिलेसम्म ठगुवा किसानले अनुदान खाने हो ।

सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्री भुसालले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको तरकारी खेतीको अवलोकन गर्नु भएको छ । अनुगमनका क्रममा उहाँले नक्कली ‘ठगुवो किसानको पहिचान गरे कारबाही गर्ने बताउनु भयो । मन्त्री भुसालले भन्नु भयो,‘किसान साथीहरूले ठगुवा भन्ने भाषा प्रयोग गर्नु भएको थियो । ठगुवा भन्ने को हो पहिचान गराइदिनुस् । नचिन्दासम्म कारबाही गर्न मिलेन । चिने पछि कारबाही हुन्छ ।’

उहाँले यहाँका किसानहरूले मेहनत गरी तरकारी उत्पादन गरेको बताउनु भयो । खेती गर्न सिँचाइको असुविधा छ । कृषि उत्पादनले बजार नपाउने र उत्पादनले उचित मूल्य नपाउने समस्या रहेको छ । दुवै समस्या समाधानका लागि सरकारले पहल गर्ने बताउनु भएको थियो । मन्त्रीले भुसालले कृषकले राखेका समस्यालाई समाधान गर्नका लागि योजना बनाएर ल्याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सहसराम चौधरी ‘कुर्मी’ लाई निर्देशन दिनु भएको थियो ।

अनुगमनका क्रममा स्थानीय अगुवा कृषक बहराची केवटले तरकारी खेती गर्नेलाई हरेक महिना मल आवश्यक पर्ने भएकोले सहजीकरण गरी दिन अपिल गर्नु भएको थियो । केवटले पहिलो पटक खेतबारीमा कृषि मन्त्री देख्दा खुसी भएको बताउनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८० मंगलबार ००:००  ३ : ३० बजे