७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बजेट निर्माणमा बाणगंगा, वडाहरुलाई दियो बजेट सिलिङ



मायादेवी अनलाइन, बाणगंगा।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले भूगोल, जनसङ्ख्या, राजश्वमा पुर्‍याएको योगदान तथा भौगलिक विकटता गरि चार सूचकका आधारमा वडाहरलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । नगरको सभाहलमा विहीवार बसेको नगरपालिकाको कार्यपालिका बैठक वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । साथै वडालाई योजना मागको लागि मार्गदर्शन समेत गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

कार्यपालिका बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । जस अनुसार ४७५ उपभोक्ता समितिबाट सम्पन्न हुने र ५१ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न हुने गरि यस आर्थिक वर्षमा नगर भरि जम्मा ५ सय २६ योजना रहेका थिए ।

जस मध्ये उपभोक्तबाट सम्पन्न हुने योजना मध्ये २९३ योजना भुक्तानी भैसकेका छन, भने ठेक्का पट्टाबाट हुने योजना मध्ये १७ वटा योजना भुक्तानी भैसकेको र बाँकी भुक्तानी हुने प्रक्रियामा रहेको नगर प्रमुख चक्रपाणी अर्यालले बताएका छन् । यस आर्थिक वर्षमा ९० प्रतिशत भन्दा धेरै योजना सम्पन्न हुने मेयर अर्यालले बताएका छन् ।

त्यस्तै कार्यपालिका बैठकले महिला स्वयमसेविका हित कोष सञ्चालन कार्यविधि पारित गरेको छ । कार्यविधि पारित भएपछि नगरमा रहेका महिला स्वयमसेविकाको पक्षमा थप प्रभावकारी कार्यक्रम हुने विश्वास लिइएको छ । त्यस्तै भूमि आयोग अन्तर्गत अव्यवस्थित बसोवासीको नापजाँचको प्रक्रिायलाई अघि बढाउने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।

नगर प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यपालिका बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उप प्रमुख रिता कुमारी चौधरी लगायतले आ आफ्नो धारण राखेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८० शुक्रबार ००:००  ९ : ५६ बजे