१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

सातौँ बर्षमा मायादेवी अनलाइन



प्रकाशकीय ।

६ बर्षसम्म समाचार प्रवाहको अविरल यात्रा पश्चात मायादेवी अनलाइन डटकम ७ औँ बर्षमा प्रवेश गरेको छ । वि.सं. २०७४ साउन महिनादेखि समाचार पस्कने औपचारिक यात्रा थालेको मायादेवीले आफ्ना छैठौँ बर्ष विताएको छ । सातौँ बर्षको यात्रा शुभारम्भ थालेको मायादेवीलाई यहाँसम्म आईपुग्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सघाउने सबै प्रति हार्दिक नमन ।

मिडियाको काम समाचार पस्कने नै हो । विज्ञान प्रविधिले संसार ओगटेको छ । यस्तो परिस्थितिमा समाचार पस्कने माध्यममा पनि द्रुत विकास भइरहेको छ । त्यहीँ मध्येको समाचार पस्कने पछिल्लो माध्यम हो अनलाइन मिडिया । इन्टरनेटको बढ्दो विस्तारसँगै अनलाइन मिडियाले यसलाई पछ्याइरहेको छ । विकसित शहर-बजारमा सजिलै पहुँच राख्ने इन्टरनेटले पछिल्लो समय गाउँ-गाउँमा सेवा विस्तार गरिरहेको छ । गाउँ-गाउँमा इन्टरनेटको सेवा विस्तारसँगै अनलाइन मिडियाको पहुँच पनि त्यही रफ्तारले अगाडी बढेको छ । मायादेवी अनलाइन मोफसलबाट इन्टरनेट मार्फत सूचना प्रवाह गर्ने उद्धेश्यले सन्चालन भएको हो ।

सूचना प्राप्त गर्ने नागरिकको अधिकार हो । अझ लोकतन्त्रमा सूचना प्रवाह गर्ने माध्यम प्राण जत्तिकै महत्वपूर्ण हुन्छ । चौथो अंगको रुपमा मिडियालाई स्विकार गरिएको छ । मिडियामा काम गर्ने कलमजिवी वर्ग नै पत्रकार हुन् । मिडिया नै नागरिकले सूचना प्राप्त गर्ने भरपर्दा स्रोतहरु हुन् । सूचना प्रवाह गर्ने मध्येको एक लोकप्रिय अनलाइन मिडिया सञ्चालनमा बढोत्तरी भइरहेका बेला मायादेवी स्थापना भएको हो । कपिलवस्तुबाट आफ्नो सेवा प्रारम्भ गरेको मायादेवी जिल्लामा सबैभन्दा पहिले स्थापना भएको अनलाइन मिडिया हो ।

मायादेवीले गुजारेका ६ बर्षलाई हाम्रा पाठकवर्गले पक्कै मूल्याङ्कन गर्नुभएकै छ । कोरोना भाइरसको महामारीमा मायादेवीले खेलेको भूमिका महत्वपूर्ण छ । कोरोना कहरमा मायादेवी सूचना प्रवाहमा अब्बल सावित भएको कुरा सबैमा जगजायरै छ । ०७४ को आम चुनाव होस् या ०७९ को स्थानीय र आम चुनाव दुवै महत्वपूर्ण चुनावमा मायादेवीले प्रभावकारी भूमिका निर्वाह गरेको छ । दक्ष जनशक्तिको सहभागीता नै मायादेवीको विश्वासिलो आधार हो । पत्रकारिता क्षेत्रमा दशक विताएका पत्रकारको संलग्नताले नै मायादेवीको उचाई बढाएको छ ।

निरन्तरताको यात्रामा आउने अफ्ठ्यारा स्वभाविक छन् । हिड्ने बाटामा ठेस लाग्नु नौलो कुरा होइन् । प्रष्ट गन्तव्य लिएर हिडेको यात्री जतिसुकै बाधा–अवरोध आएपनि थाक्दैन् । यही यात्रामा मायादेवी अनलाइन छ । पहिचान बनाउन जति दुःख छ, त्यसलाई टिकाइ राख्न पनि उत्तिकै दुःख छ । छिनछिनमा समाचारको स्वाद चाख्न पाठकवर्ग आतुर छन् । पाठकको यो मनसाय बुझेर अगाडी बढ्ने प्रण गर्दछौँ । समाजमा बढ्दो बेरोजगारी, गरिबी, अभाव, अन्याय, अत्याचार जस्ता समाजिक समस्यासँग जुध्नुपर्ने आजको आवश्यकता हो । बढ्दो भ्रष्ट्रचारको जालोलाई तोड्न सघाउने अर्को मुख्य अभिभार हो । समृद्धि र विकासको सारथी बनेर अगाडी बढ्ने मायादेवी प्रण गर्दछ । मिडियाले निरासा भन्दा आशा बाँड्दा सामाजिक हित बढी छ । सफलताका कथाहरुले व्यक्तिका निरासा मेट्ने काम गर्छ । देश, विकासको पहिलो प्रण आशाबाट गर्न हामी आह्वान गर्छौ ।

आज राजनीतिक व्यवस्थामा बढिरहेका निरासा चिर्न जरुरी छ । नामको मात्र लोकतन्त्र होइन् अधिकार र कर्तव्यसहितको लोकतन्त्रको खाँचो छ । लोकतान्त्रिक संस्कार हुँदा मात्र लोकतन्त्र सबल बन्छ । व्यक्तिका हरेक प्रवृत्तिसँग देशको शासन व्यवस्था राम्रो कि नराम्रो भन्ने जोडिन्छ । हामीले शासकका प्रवृत्तिलाई लिएर खबरदारी गर्नुपर्ने स्थिति छ । हाम्रा काम गर्ने तौरतरिका, हाम्रा बानि, व्यहोरा सुधार्न जरुरी छ । यी विषयमा शासक मात्र होइन्, नागरिकसम्म सुध्रिन जरुरी छ । समयानूकुल आफू परिवर्तन हुने प्रण गर्दै समाजवाद उन्मुख अर्थव्यवस्था भएको मुलुक निर्माणका खातिर जुनसुकै चुनौती आइपरेपनि मायादेवी अनलाइन जुँधिरहने छ ।

हामीले तपाईँ पाठकको अमूल्य साथ र सहयोग पाइरहने आशा व्यक्त गर्दछौँ । बार्षिक उत्सवको अवसरमा सम्पूर्ण पाठकमा पुनः हार्दिक नमन् ।

प्रकाशित मिति : १९ श्रावण २०८० शुक्रबार ००:००  ५ : ११ बजे