१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई तीन वर्ष कैद सजाय



एजेन्सी ।
पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ ।

इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई दोषी प्रमाणित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अदालतले खानलाई एक लाख रुपैयाँ जरिबाना पनि तोकेको छ । खानले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आउनुएको छ । आज दिउँसो १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक शुरु भएको हो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए ।

अदालतले खानका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको बीबीसी हिन्दीले जनाएको छ । न्यायाधीशले खानलाई तत्काल पक्राउ गर्न आदेश दिएका छन् ।

खानका वकिल इन्तजार हुसैनले पूर्व प्रधानमन्त्री खान उहाँको लाहोरमा रहेको घरबाट पक्राउ परिसक्नुभएको बताएका रोयटर्सले जनाएको छ । खानको समूहले निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८० शनिबार ००:००  ९ : १७ बजे