१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु हैजाको उच्च जोखिममा, साढे १४ प्रतिशत खानेपानीमा भेटियो दिसाजन्य पदार्थ



कपिलवस्तु ।
कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली भएको पाइएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको विभिन्न १ सय ४ स्थानको खानेपानीको नमूना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो।

जिल्लाका ८ स्थानीय तहमा गरिएको परिक्षणमा १४ दशमलव ४२ प्रतिशत नमूनामा इकोली भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ। परिक्षणमा जिल्लाका शुद्धोधन र मायादेवी गाउँपालिका र महाराजगंज नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो।

स्वास्थ्य प्रमुख श्रीवास्तवका अनुसार शुद्धोधन गाउँपालिकामा १६ नमूना परिक्षण गर्दा ४ वटामा इकोली भेटिएको छ। मायादेवीमा ८ वटा परिक्षण गर्दा २ वटामा, महाराजगंज नगरपालिकामा ३० वटामा ७ र कृष्णनगर नगरपालिकामा १२ वटा परिक्षण गर्दा २ वटामा ईकाली भेटिएको स्वास्थ्य कार्यालय ल्याब टेक्निसियन श्रीधर खनालले बताए। शिवराज नगरपालिकाको १४, बुद्धभूमि नगरपालिकाको ८ र बाणगंगाको १० स्थानको नमूना परिक्षण गर्दा पानीमा इकोलीको मात्रा नभेटिएको खनालले बताए।

२ बर्ष अघि जिल्लाको कृष्णनगर महराजगंज, मायादेवी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिदा ५ जना बढीको मृत्यु भएको थियो । गत असार २३ देखि २८ असारसम्म जिल्लाको ८ पालिकामा गरिएको पानीको नमूना परिक्षणले जिल्लाका ४ पालिकामा हैजा फैलने जोखिम रहेको खनालले बताए। ‘ पानीको नमूना परिक्षण गर्दा ४ पालिकाको पानीमा इकोलीको मात्रा बढी फेला परेको छ ’ उनले भने ‘ त्यहा सचेतनाको कार्यक्रम संचालन गर्नु पर्छ ।’

उनले हैन्डपम्पको पानीमा भने इकोली नदेखिएको उनले बताए। खासगरी कृष्णनगरको मदर्सा र अन्य पालिकाको नास्ता पसलहरुमा रहेका हेन्ड पम्प र जग, मग र बाल्टीमा रहेको पानीको परिक्षण गरिएको थियो। हेन्ड पम्पको पानीमा इकोलीको मात्रा भेटिएन तर जग, मल बाल्टीको पानीमा भने इकोलीको मात्रा भेटिएको खनालले बताए।

होटल र नास्ता पसलेले भाडाकुँडा फोहर राख्ने र सरसफाईमा समेत ध्यान नदिएकाले यस्तो देखिएको उनले बताए। इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दूषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने स्वास्थयकर्मी बताउँछन्। वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनका साथै पानी शुद्धिकरण गरी पिउनु पर्ने उनीहरु बताउँछन्। जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने बताइएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८० आइतबार ००:००  ९ : ४९ बजे