११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

नेकपा एस बैठक : पार्टी नेतृत्वप्रति नेताहरूको असन्तुष्टि



काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) का नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाण्डौको आलोकनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आइतवार स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसद्को गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै नेकपा एमालेको पनि आलोचना गरेका थिए ।

संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । संसद् बैठक नै बस्न नसक्ने अवस्था सिर्जना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरूले राखेका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसद्लाई गरिमामय बनाउन हाम्रो पार्टीको भूमिका कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन् । सदनको एक मिनेटको बिजनेस पनि असाध्यै महत्त्वपूर्ण हुन्छ । प्रतिपक्षले संसद् अवरोध गरिरहेको विषयमा पनि कुरा उठेका छन् ।’

हिजो शनिवारदेखि शुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । एकीकृत समाजवादीले पार्टीको आसन्न १० औँ महाधिवेशन आउँदो माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो । उपमहासचिव तुलाधरका अनुसार अब भदौँ पहिलो हप्ता बस्ने पोलिटब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे योजना तय गर्नेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८० आइतबार ००:००  ६ : १० बजे