१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विचार र व्यवहारका दृष्टिकोणले पनि नेकपा एस सर्वोत्कृष्ट पार्टी हो : अध्यक्ष नेपाल



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्त वैकल्पिक शक्ति बन्ने बताएका छन्। काठमाडौंमा शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठक समापन गर्दै आइतबार उनले नेकपा एसको शक्ति कमजोर नभएको र सशक्त वैकल्पिक शक्ति बन्ने राम्रो ग्राउन्ड भएको बताए।

उनले नेकपा एमालेमा विद्रोह गरेर सर्वथा उचित गरेको बताउँदै कम्युनिष्ट आन्दोलनभित्र आफूहरू अगाडि आउन सक्ने बताए। उनले विचार र व्यवहारका दृष्टिकोणले पनि नेकपा एस सर्वोत्कृष्ट पार्टी भएको दाबी गरे।

‘हाम्रो शक्ति कमजोर होइन, छैन र यो पार्टीसँग सशक्त बैल्कल्पिक शक्ति बन्ने निकै राम्रो ग्राउन्ड छ,’ उनले भने, ‘हामीभन्दा विचार र व्यवहारमा अरु को उत्कृष्ट छ ?’ विद्रोहको औचित्य पुष्टि भएको बताउँदै यसलाई संख्यामा तुलना गर्न नमिल्ने भनाइ उनको थियो। कार्यकर्ताको संख्या बढ्न समय लाग्ने उनको भनाइ थियो। अब नेकपा एसले कार्यकर्ता बढाउनेगरी काम गरिरहेको पनि उनले बताए। संगठन निर्माणका लागि सडक, संसद् र सरकार तिनै क्षेत्रमा काम गरिने भनाइ उनले राखे।

बैठकमा अध्यक्ष माधवकुमार नेपालसहित सम्मानीत नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, सचिव रामकुमारी झाँक्रीलगायत ३० जना नेताले विचार राखेका थिए। बैठकले पार्टी पोलिटब्युरो बैठक भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ र ७ गते बोलाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रकाशित मिति : २१ श्रावण २०८० आइतबार ००:००  ९ : ५३ बजे