१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध नलेख्न कार्यकर्तालाई नेकपा एसको निर्देशन



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले नेता कार्यकर्तालाई सामाजिक सञ्जालमामा नेतृत्वविरुद्ध नलेख्न निर्देशन दिने भएको छ। आइतबार काठमाडौंमा सम्पन्न स्थायी कमिटी बैठकले पार्टी नीति र अनुसाशनविपरीत लेख्ने र बोल्ने कार्य नगर्न निर्देशन गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले देशमा विभिन्न भागमा सुक्खा खडेरी लागेकाले मधेश लगायतका प्रदेशका सबै सुक्खा खडेरी परेको क्षेत्रलाइ सुक्खा क्षेत्र घोषणा गरी राहत कार्यक्रम सञ्चालन गर्न माग गर्ने निर्णय गरेको छ।

बैठकले केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको मिति घोषणा गर्ने निर्णय पनि गरेको छ। आजको स्थायी कमिटी बैठकले पार्टी पोलिटब्युरो बैठक भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ र ७ गते बोलाउने निर्णय गरेको छ।

यी हुन् नेकपा एसले बैठकमा गरेका ६ निर्णयः

१) मुलुकको तराई क्षेत्रमा सुख्खा खडेरी परी धान रोपाई नै हुन नसकेकोले त्यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने।

२) मुलुकका विभिन्न भागमा बाढी पहिरो गई जनधनको ठुलो क्षेति भएकाले बाढी पहिरोबाट प्रभावित जनतालाई उद्धार र राहत प्रदान गर्न सरकारसँग माग गर्ने।

३) भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीहरूको खोजी तथा उद्धार कार्यमा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्ने ।

४) मुकुकभर फैलिएको लम्पी स्किन रोगबाट ठूलो संख्यामा पशुहरूको मृत्यु भएर क्षति भोगेका किसानहरूलाई राहत दिन सरकारसँग माग गर्ने ।

५) अहिले पार्टी र पार्टी सम्वद्ध जनसंगठनमा आवद्ध कतिपय व्यक्तिले सार्वजनिक संचार माध्यम र सामाजिक संजालमा अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने गरेको पाइएकाले त्यस प्रकारले बोल्ने र लेख्ने काम नगर्न यो बैठक निर्देशन गर्दछ । पार्टीका नीति र निर्देशनको अबज्ञा भैरहेमा पार्टी विधान अनुसार कार्वाही हुने व्यहोरा स्वतः सिद्ध छ ।

६) हामी पार्टी सचिवालयको बैठकबाट सुरु गरेर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक समेत गर्ने योजनाका साथ अगाडि बढेका छौं। यी बैठकहरूबाट हामीले विगतमा गरेका कामको समिक्षा गर्नेछौ र आगामी दिनका लागि कार्ययोजना तय गरी अगाडि जाने छौं । त्यसैगरी हामी छिटै पार्टी महाधिवेशनमा जाने छौं र त्यहाँबाट सबै विषयमा स्पष्ट गरेर अगाडि बढ्ने छौं । सबै कमरेडहरूलाई त्यसै अनुसार अगाडि बढ्न आह्वान गर्ने ।

प्रकाशित मिति : २१ श्रावण २०८० आइतबार ००:००  ९ : ५६ बजे