२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

पाल्पामा सालको पातका दुना टपरीले व्यावसायिक रुप लिँदै



पाल्पा ।
आधुनिकतासँगै हराउन थालेका सालको पातबाट बनाइने दुना टपरी, लाफा, खोरी बनाउने काम पाल्पामा व्यवसायिक रुपमा गर्न थालिएको छ ।

सजिलोका लागि प्लाष्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै तानसेनमा भने सालका पातबाट बनाईने दुना, टपरीले बजार लिन थालेको छ ।

विवाह, ब्रतबन्ध, पूजाआजा र मृत्यु संस्कारमा दुना, टपरी प्रयोग हुँदै आएको छ । परम्परागत धर्म ,संस्कृतिकलाई बचाई राख्न र यहाँका महिलाहरुलाई आयआर्जनमा जोड्ने उद्देश्यले यहाँको तानसेन नगर सरकारले उद्योग नै स्थापनाका लागि सहयोग गरेको छ । वन जंगलमा खेर गइरहेको सालको पातलाई तानसेन नगरपालिका-७ का काजीपौवाका महिला उद्यमीहरुले आयआर्जनको माध्यम बनाउन सफल भएका छन् ।

नगर सरकार र डिभिजन वन कार्यालयले महिला समूहलाई तालिम दिएसँगै यहाँका महिलाहरु दुना, टपरी बनाउने काममा लागेका हुन् । नगर सरकारले तालिम दिएपछि सालको पातबाट दुना, टपरी तयार गर्ने मेसिन उपलब्ध गराएको छ ।

मेसिन पाएपछि महिलाहरु फुर्सदको समयलाई उपयोग गर्दै स्वरोजगार भएका छन् । अहिले उद्योगमा स्थानीय महिलाहरुले रोजगार पाएका छन् । यहाँ उत्पादित वस्तु स्थानीयदेखि छिमेकी जिल्लाहरुमा विक्री वितरण हुँदै आएको छ । उनीहरुले वार्षिक ५ लाख भन्दा बढीको कारोबार गर्दै आएका छन् ।

उद्योगमा आवश्यक कच्चा पदार्थ संकलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै, राम्रो आम्दानी गर्न सफल भएको समूहकी मिनु रोकाह बताउनुहुन्छ ।

स्थानीय ५ जना महिलाहरुको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नुको साथै परम्परागत दुना, टपरीको संरक्षण भएको समूहकी व्यवस्थापक चमेली श्रेष्ठको अनुभव छ ।

जिल्लाका अन्य स्थानीय सरकारले समेत यस्ता उद्योगका लागि विगतमा पहल गरेको भएपनि केवल प्रचार प्रसारमा मात्र सिमित भएको अवस्थामा तानसेन काजीपौवाका महिलाहरुले भने निरन्तरता दिँदै आएका छन् ।

यस्ता,उद्योगबाट महिलाहरुलाई उद्यमी बनाउने गरी स्थानीय सरकार लागेको नगर सरकारका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो ।

त्यसै खेर जाने सालको पातलाई प्रयोगमा ल्याउँदा वातावरण विरोधि प्लाष्टिकजन्य वस्तुको प्रयोग घट्दै गएको छ । जसले गर्दा वातावरणमैत्री वस्तुको प्रयोगमा सचेतना पनि बढ्दै गएको देखिन्छ । घरेलु, तथा कुटिर उद्योगहरु तानसेनमा जस्तै अन्य ग्रामिण क्षेत्रमा पनि सञ्चालन गर्न सम्बन्धित स्थानीय सरकारले ध्यान दिन सके चुलो चौकोमा सिमित महिलाहरु स्वरोजगार बन्नुको साथै आत्मनिर्भर हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०८० मंगलबार ००:००  ३ : ३९ बजे