२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

म्याग्दीमा आलुले बजार नपाउँदा किसान समस्यामा



म्याग्दी ।
म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् ।

पश्चिम म्याग्दीका मालिका, मंगला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ ।

अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पीरले आफूहरूलाई सताएको मालिका–२ रुमकी टेकसरा बूढाले बताए ।

म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा ६ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको उत्पादन बढे पनि बिक्री हुन नसक्दा समस्या भएको किसानको गुनासो छ ।

विगतका वर्षहरूमा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा १ हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांक छ । प्रतिकिलो ५० देखि १०० रुपैयाँसम्ममा कृषकले आलु बेच्ने गरेका थिए ।

व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्ने गर्दथे तर यस वर्ष भने प्रतिकिलो ३५ रुपैयाँमा आलु दिँदा पनि बिक्री हुन नसकेको मंगला–४ का तीर्थबहादुर पुनले बताए ।

जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगंगा–६, ७ र ८ र अन्नपूर्ण–५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले यस वर्ष जिल्लाभर १ हजार ६५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार ४१० मेट्रिक टन उत्पादन भएको जानकारी दिए । ‘अघिल्लो वर्ष १ हजार १४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार ७९३ मेट्रिक टन उत्पादन भएको थियो,’ उनले भने, ‘क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो ।’

प्रकाशित मिति : २५ श्रावण २०८० बिहिबार ००:००  ८ : ५८ बजे