४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुको जहदीबाट तीन नक्कली बाबा नियन्त्रणमा



कपिलवस्तु।
नक्कली साधु बनेर ठगी गर्दै हिँड्ने एक गिरोहलाई कपिलवस्तुबाट पक्राउ गरिएको छ । कपिलवस्तु नगरपालिका अन्तर्गत वडा नम्बर ११ बाट ३ जना साधुलाई अस्थायी प्रहरी पोष्ट जहदीले शुक्रबार विहान नियन्त्रणमा लिएको हो ।

नक्कली भेष धारण गरेर धर्मको नाममा ठगीधन्दा चलाएको स्थानीयको भनाईको आधारमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरुको साथबाट भारत सरकारले प्रदान गरेको आधार कार्ड पनि भेटिएको छ । स्थानीय पुजारी जित बहादुर कुर्मीका अनुसार ती साधु साधु नभएर नक्कली गेरु वस्त्र धारण गरेको ठग रहेका छन् । गाउँगाउँमा पसेर धर्मको नाममा बिभिन्न डर सिर्जना गरी १०, १५, २० हजारका दरले गठ गर्ने, फुकफाक गरी तपाईको सम्पत्ति २ गुणा बनाइदिन्छु लगायतका भ्रम छरेर गठी गरेको सुनिएको कुर्मी बताउँछन् । उनका अनुसार उनीहरु नाथ समुदायका हुन् ।

कुर्मीले अपिटाइम्ससंग भने, ‘मन्दिरमा पुजा गर्ने भक्तको नाताले म पनि पुगेँ । मान्छे भारतका । आधारकार्ड पनि देखियो, स्वरुप सन्त, काम ठगी गर्नेरहेछन् । सनातन धर्मको बारेमा सोधेको थिएँ । केही थाहा छैन । रामको ४ भाइ पनि थाहा छैन तिनीहरुलाई । एक अर्कालाई नाम थाहा छैन । कुनै शाष्त्रको बारेमा थाहा छैन । यो त धर्मको आडमा डकैँती गरेको हो । सन्तको नाताले भन्छु सनातन धर्मको भेष उतार यस्तो गर्न पाइँदैन । यिनलाई प्रहरीले मुद्धा चलाउनु पर्छ ।’

उनले हिन्दूधर्मको नाममा छद्मभेषमा ठगी गर्ने यस्ता गिरोह अरु पनि भएको हुन सक्ने भन्दै खोजी गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

यता प्रहरीले अनुसन्धान भइरहेको भन्दै ठगी गरेको पाइए कानुन अनुसार कारबाही हुने बताउँछ । प्रहरी नीरिक्षक कोशिसबाबु जोशीले गाउँलेसंग फुकफाक गरेर ठग गरेको प्रारम्भिक जानकारी आएको बताए । उनीहरु स्थायी नभएर घुमन्ते साधु भएको जोशीको भनाई छ । नक्कली रहेर ठगी नै गरेको प्रमाणित भए कारबाही गर्ने उनी बताउँछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८० शुक्रबार ००:००  ५ : ५१ बजे