१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विद्युत सर्ट भएपछि आगलागी हुँदा अर्घाखाँचीको जलुकेमा लाखौँको क्षति



बिष्णु कुमार आले, अर्घाखाँची ।
विद्युत सर्ट भएपछि आगलागी हुँदा अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी भएको छ । उक्त आगलागीबाट लाखौंको क्षति पुगेको छ ।

घरमा जडान गरिएको विद्युतिय मिटर बक्समा विद्युत सर्ट भई एक्कासी घरमा आगोलागी भएपछि घर नजिकै रहेको गोठ र बाख्राको खोर पूर्णरूपमा जलेको छ ।

शनिबार बिहान आगोलागी हुँदा घरमा भएको अन्नपात, लत्ताकपडा, पचास हजार नगद तथा जिन्सी सामग्री जलेर नष्ट भएको छ । आगोलागी भएको जानकारी पाउने बित्तिकै वडाका जनप्रतिनिधि, जलुके प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्दार गरेको वडा अध्यक्ष देवीराम घिमिरेले जानकारी दिए ।

अहिले पीडित परिवारलाई छिमेकी आफ्नै दाजुभाई हरि बहादुर खाम्चाको घरमा राखिएको छ । उनीहरूको चार जनाको परिवार मध्ये दुई जना रोजगारका लागि भारत गएको र दुई जना घर बाहिर भएको बेला मिटरबक्समा बिद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

बर्षाको समयमा आगोलागीबाट गाँस, बास, कपास बिहिन भएपछि खाम्चाको परिवार विचल्लीमा परेको हो । अहिले पीडित परिवारलाई बिहान बेलुका छाक टार्नका लागि छिमेकीहरूले सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८० शनिबार ००:००  २ : ४७ बजे