११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति



काठमाडौँ ।
नेकपा एमालेले प्रदेश अधिवेशनको मिति तोकेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोकेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ । त्यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ गते बाग्मती प्रदेश, १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

ज्ञवालीले पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार वडा र टोलमा ४० वर्षमुनिका कम्तीमा एक तिहाइ युवाहरू अनिवार्य समावेश हुनुपर्ने, पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरू रहनुपर्नेछ ।

त्यस्तै बैठकले केन्द्रीय कमिटीको सदस्यको रूपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र बाग्मती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा ल्याउने निर्णय पनि पार्टीले गरेको छ ।

यसैबीच उपमहासचिव ज्ञवालीले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले उसको संलग्नता पुष्टि भएको दाबी गर्नुभयो । उहाँले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बन्नु अनिवार्य रहेको भन्दै अनुसन्धान ढिलाइ गर्नुले प्रमाणहरू नष्ट हुँदै जाने बताउनुभयो ।

उच्चस्तरीय छानबिन न्यायिक समिति बनाई जरैसम्म अनुसन्धान नभए अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि नराम्रो हुनुका साथै नेपालको भूराजनीतिमा समेत असर पर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०८० सोमबार ००:००  ७ : ३९ बजे