१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सकियो लुम्बिनी प्रादेशिक मिडिया सम्मेलन, १३ बुँदे घोषणपत्र सार्वजनिक



बुटवल।
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भएको पहिलो मिडिया सम्मेलन १३ बुँदे घोषणपत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

भदौ १ बुटवलमा सुरु भएको मिडिया सम्मेलन २०८० को १३ बुँदे बसन्तपुर घोषणापत्र जारी जारी गर्दै सम्पन्न भएको हो ।लुम्बिनी प्रदेशभित्रका झण्डै दुई सय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरबाट १३ बुँदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको छ ।

घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।

घोषणापत्रमा तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।

सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताविना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन, संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।

प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई विशेष प्राथमिकताका साथ सहयोग गर्न माग गरिएको छ ।
सम्मेलनले तीन महिनाभित्र गुल्मीमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको संघका अध्यक्ष नवराज कुँवरले बताए ।

सम्मेलनमा सहभागी मिडिया संचालकहरुले दर्ताबिना चलेका मिडियाहरुबाट बैधानिकता प्राप्त गरेका मिडिया हाउसहरुलाई ठुलो हानीनोक्सानी भएको धारणा राखेका थिए । उनीहरुले कपीपेष्ट पत्रकारिताले मिडियाको गुणस्तरियतामा कमी आएको उल्लेख गर्दै पछिल्लो समय दक्ष पत्रकार पाउन असहज भएको बताएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट उद्घाटन गरिएको मिडिया सम्मेलनमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,वरिष्ठ पत्रकारहरु कनकमणि दीक्षित,युवराज घिमिरेलगायतले मोफसलका मिडियाको सबलिकरणले मात्रै तीनै तहका सरकार प्रभावकारी ढंगले सञ्चालन हुनसक्ने र लोकतन्त्र सुदृढ हुने धारणा राखेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८० शनिबार ००:००  १० : ०५ बजे