पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा बाढी पसेको छ। सुस्ता गाउँपालिका–५ स्थित थारु टोलबाट पस्न सुरु भएको नारायणी नदीको बाढीका कारण १६० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।
शुक्रबार दिउँसो थारु टोलबाट बाढी पस्न सुरु भएको थियो। थारु टोलका ७८ घरपरिवारलाई सुस्तामै निर्माण गरिएको होल्डिङ सेन्टरमा राखिएको छ। राति सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि १६० भन्दा बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिनुभयो।
नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेकाले विस्थापितलाई नारायणी नदीवारि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उहाँले बताउनुभयो। अधिकांश कच्ची घरमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ।
नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेको छ। शनिबार बिहान ७ बजेको मापनअनुसार गण्डक ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ।
पछिल्लो समय नदीमा बालुवा थुप्रिनुका साथै नारायणी नदीले धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि एक लाख क्युसेक पानीको बहाव पुग्नेबित्तिकै सुस्तामा बाढी पस्न थालेको स्थानीय बताउँछन्।
स्थानीय मुन्सी हरिजनले नदीको पानीको सतह बढ्ने क्रम जारी रहेकाले सुस्ताका सबै बस्ती जोखिममा रहेको बताउनुभयो। सुस्तामा तटबन्ध निर्माण हुन बाँकी रहेको १३२ मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको छ।
सुस्तामा बस्तीका साथै दर्जनौँ बिघामा लगाइएको उखु बालीमा समेत बाढीले क्षति पुर्याएको छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ताको अवस्था हेरेर उद्धार गर्नुपर्ने अवस्था आए तत्काल परिचालन गर्ने गरी टोली तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले नदीको बहाव र सुस्ताको अवस्थालाई निरन्तर निगरानीमा राखिएको जानकारी दिनुभयो।









प्रतिक्रिया