१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले अहिले पनि संकीर्णताबाट गुज्रिइरहेको छ : अध्यक्ष नेपाल



काठमाडौँ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँगको विद्रोहको औचित्य पुष्टि भइसकेको बताएका छन् । उनले यस्तो विषयमा पार्टीका नेता कार्यकर्ता पश्चतापमा बस्न नहुने बताए । मंगलबारदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटीको छैटौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूको विद्रोहका कारण एमाले अहिले पनि संकीर्णताबाट गुज्रिरहेको बताए ।

‘हामीले नेकपा एमालेमा गरेको विद्रोहको औचित्य पुष्टि भइसकेको छ । राजनीतिक घटनाक्रमले त्यसलाई पटक–पटक पुष्टि गरेको छ । त्यो बेला हामीले साँच्चिकै ठूलो आँट गरेका थियौँ भन्ने कुरा पनि अहिले पुष्टि भएको छ,’ उनले भने, ‘हामी अब सबै दलहरूसँग सहकार्य गरेर, जनताका समस्यालाई सम्बोधन गर्दै देशलाई अघि बढाउन चाहान्छौँ । तर एमाले अहिले पनि संकीर्णताबाट गुज्रिइरहेको छ ।’

अध्यक्ष नेपालले आफू सहभागी भएको राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा समेत एमाले नआएको बताए । ‘आज राष्ट्रपतिले बोलाएको बैठकमा म पनि गएको थिएँ । तर एमाले नेता आएनन् । सायद त्यहाँ एकीकृत समाजवादीको छाया भएकाले होला । माधव नेपालको छाया भएकाले होला,’ उनले भने, ‘तर यसमा हाम्रो कुनै कुरा छैन । हाम्रो सानो चित्त छैन ।’

प्रकाशित मिति : ५ भाद्र २०८० मंगलबार ००:००  ३ : ५९ बजे