१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिद्धार्थको स्ववियुमा विवादः सचिव गिरीले भने, ‘आफूखुसी निर्णयको प्रतिकारमा उत्रिन्छौँ’



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु सिद्धार्थ क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को विवाद सतहमा आएको छ । स्ववियु सभापति रहेका निलकमल थारुले आफूखुसी एक सार्वजनिक विज्ञप्ति जारी गरेसँगै यहाँको विवाद सतहमा आएको हो । सभापति थारुले एक विज्ञप्ति निकाल्दै क्याम्पसका छाताभित्र हुने हरेक गतिविधिको स्ववियुलाई जानकारी हुनुपर्ने र अन्यथा जानकारी नभए यसको जिम्मेवार स्वंय विद्यार्थी संघ-संगठनलाई हुने चेतावनी जारी गरेका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘कुनै पनि विद्यार्थीसँग सम्बन्धित माग, समस्या वा अन्य कार्यक्रम गर्दा विद्यार्थीको साझा संस्था स्ववियुलाई जानकारी गराएर मात्र गर्नुहोला । यदि जानकारी नराएको खण्डमा स्ववियु जिम्मेवार हुने छैनौँ ।’

अझै चेतावनी भाषा प्रयोग गर्दै उनले भनेका छन्, ‘शैक्षिक वातावरणमा दख्खल पुग्ने काम भए स्ववियु बाध्य भएर उचित कदम चाल्ने छ ।’

उनले निकालेको यो विज्ञप्ति व्यक्तिगत भएको स्ववियु सचिव पशुपती गिरीले बताएका छन् । सचिव गिरीले एक विज्ञप्ति निकाल्दै स्ववियुमा व्यक्तिगत निर्णय नगर्न आग्रह गर्दै सहमतिको आधारमा चल्न सभापतिलाईआग्रह गरेका छन् । उनले सभापतिले निकालेको सूचना प्रति घोर भत्सर्ना समेत गरेका छन् ।

यता सभापति थारुले विद्यार्थी संगठनलाई नै चेतावनी जारी गर्नु आपत्तिपूर्ण भएको विद्यार्थी संगठनले जनाएका छन् । विद्यार्थी संगठन विद्यार्थीकै हकहित र अधिकारका लागि तल्लिन हुन्छन् । क्याम्पस स्तरमा हुने संगठनका गितिविधिलाई स्ववियुले रोक लगाउने गरी विज्ञप्ति निकाल्नु बालहठ भएको संगठनका नेताहरुको प्रतिक्रिया छ ।

सामुदायिक क्याम्पसमा हुने हरेक गतिविधिमा विद्यार्थी संगठन र स्ववियु दुबैको अधिकार हुने विद्यार्थी संगठनहरुको भनाई छ। विद्यार्थी संगठनबाट निर्वाचित भएको स्ववियु पदाधिकारीले आफै मात्र उत्तराधिकारी हुँ भन्ने ठान्नु महत्वाकांक्षाको उपच भएको उनीहरुको ठहर छ ।

प्रकाशित मिति : ७ भाद्र २०८० बिहिबार ००:००  ८ : २९ बजे