१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले लुम्बिनी अधिवेशनः अध्यक्षको दाबेदारमा कँडेल र रिजाल



प्रकाश आचार्य, बुटवल ।
नेकपा एमालेका लुम्बिनीका नेताहरू प्रदेश अधिवेशनमा केन्द्रित भएका छन् ।

यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी एमालेले तीव्र बनाएको छ ।

अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरू नेतृत्वमा आउन लबिङलाई तीव्र बनाएका छन् । वामपन्थी वर्चस्व क्षेत्र भएको र अन्य प्रदेशभन्दा पहिला अधिवेशन हुन थालेपछि केन्द्रीय नेताहरूको भिड रूपन्देहीमा बढ्दै गएको छ ।

पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा चासो बढेको छ ।

एमाले लुम्बिनीको नेतृत्वको लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य हरि रिजाल मुख्य दाबेदारको रुपमा देखिएका छन् ।

कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट नेताको रूपमा चिनिन्छन् ।

एमाले नेता तथा प्रदेश सांसद विष्णु पन्थीले कँडेल र रिजालमध्ये एक जना प्रदेश अध्यक्षको नेतृत्वमा आउने बताए । ‘पार्टी चुनाव हुने अवस्था जहाँसम्म नआउला’ पन्थी भन्छन्, ‘अहिले निर्वाचन हुने अवस्था आए कँडेल र रिजालबीच नै प्रतिस्पर्धा हुन्छजस्तो मलाई लाग्छ । पार्टीमा अहिले गुटबन्दी छैन । आन्तरिक रुपमा आफ्नो फेवरको नेताहरूलाई नेतृत्वमा ल्याउन पार्टीका दोस्रो तहका नेताहरू अवश्य लाग्नुहुन्छ ।’

अध्यक्ष कँडेलले पार्टीलाई बलियो र सुदृढ बनाउन एक पटक नेतृत्वमा आउने इच्छाअनुसार अघि बढेको बताए । ‘म पार्टीको संसदीय र केन्द्रीय कमिटीमा पनि छैन’ कँडेलले भने, ‘पार्टीको आग्रह अनुसार अघि सरेको हुँ ।’ यता रिजालले पार्टीलाई व्यवस्थित, वैचारिक रुपमा सुधार ल्याउन नेतृत्वमा आउन चाहेको बताए ।

आउँदो निर्वाचनमा जित निकाल्ने गरी पार्टी बनाउन आफू पार्टीको प्रदेश नेतृत्व गर्न चाहेको रिजालले बताए ।

प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल आउने निश्चित भइसकेको छ ।

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेशका १०९ वटा स्थानीय तहबाट प्रति १०० पार्टी सदस्यबाट एक जना प्रतिनिधि आउने व्यवस्था गरेको छ । दलितको हकमा भने विधानले ७५ जना पार्टीका सदस्य बराबर एक जना प्रतिनिधि तोकेको छ ।

प्रतिनिधि छनोटको काम भदौ ९ गते एकै दिनमा सम्पन्न हुने एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

१२ जिल्ला रहेको यो प्रदेशमा भूगोल तथा जिल्ला समेटेर नेतृत्व छनौट गर्न नेतृत्वलाई चुनौती छ । अहिले प्रदेश कमिटीमा ६०० भन्दा बढी सदस्य रहेकाले पनि अबको कमिटी २५० मा झार्नुपर्ने अवस्था पार्टीलाई छ ।

त्यसका लागि झन् नेतृत्वलाई सकस रहेको एमालेका नेताहरू बताउँछन् ।

प्रकाशित मिति : ८ भाद्र २०८० शुक्रबार ००:००  ८ : ०९ बजे