१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगामा हाकिम नहुँदा पिपरा अस्पतालको सेवा प्रभावित हुँदै



मायादेवी अनलाइन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नहुँदा पिपरा अस्पतालको सेवा प्रभावित हुने भएको छ । अस्पतालको सेवा प्रवाहका लागि आवश्यक पर्ने निर्णयहरु समयमै हुन नसक्दा सेवा प्रभावित हुने भएको हो ।

हाकिम नहुँदा पिपरा अस्पतालको स्वास्थ्य सेवा संग जोडिएका खरिद प्रकृया र भुक्तानी लगाएतका कामहरु समयमै अघि बढ्न नसक्दा प्रभावित भएको छ ।

कपिलवस्तुको बाणगंगा २ अवस्थित पिपरा अस्पतालका लागि अत्यावश्यक औषधी, उपकरण, मेसिन र सर्जीकल लगाएतका सामाग्रीको खरिद प्रकृयामा प्रत्यक्ष असर परेको छ भने सामान्य औषधी पनि अभाव हुन थालेको छ । पछिल्लो समय पिपरा अस्पतालमा बाणगंगा नगरपालिकाले डाक्टरहरुको नियुक्ती गरेपछि अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको भिडभाड बढ्न थालेको थियो । डाक्टरहरुले नियमित र प्रभावकारी सेवा दिएपछि नगरवासी खुशी भएका थिए । विमा र अन्य विरामीले गर्दा पिपरा अस्पतालमा चाप हुन थालेको छ ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कर्मचारी सरुवाले पनि नगरको स्वास्थ्य सेवा प्रवाहमा समस्या आउने गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल सरुवा भए लगत्तै नयाँ कार्यालय प्रमुखको रुपमा आउने यमाकान्त पाण्डे नआउदा थप समस्या भएको हो । एकातिर सरुवा भएका कार्यालय प्रमुख समयमा नआउने र कार्यालयमै हुदा पनि काम नगरदिएपछि स्वास्थ्य सेवा लगाएका अत्यावश्यक कामहरु प्रभावित भएको प्रमुख अर्यालले बताउनुभयो ।

‘कार्यालय प्रमुख व्यवस्थापनका लागि २/२ पटक काठमाण्डौं मन्त्रालयमा पुगियो, न सरुवा भएका कर्मचारी हाजिर हुन्छन् न नयाँ पठाउछन् यस्तो छ अवस्था, कसरी काम हुन्छ’, नगर प्रमुख अर्यालले भन्नुभयो ।

अस्पतालको सेवा विस्तारको क्रममा रहेको अप्रेसन थिएटरमा आवश्यक पर्ने उपकरण तथा मेसिनको खरिद प्रकृयामा मुख्य असर परेको पिपरा अस्पतालका डा. गणेश क्षेत्रीले जानकारी दिनुभयो । सर्जिकल ओ.टी.को तयारी असारमै गरिएको थियो, तर त्यतिवेला हाकिमले निर्णय नगरिदिदा समस्या परेको हो, डा. क्षेत्रीले मायादेवी अनलाइनलाई बताउनुभयो । अस्पताललाई अख्तियारी नहुँदा पनि कतिपय सेवा प्रभावित हुने गरेको छ ।

आफु पिपरा अस्पताल आएपछि योजनाबद्ध तरिकाले अस्पताल सुधारका कार्यहरु प्राथमिकताका साथ अघि बढाउन खोजेको बताउनुभयो तर प्रशासनिक झन्झट लगाएतको विविध कारणले सोचे अनुसार काम भएको छैन ।

‘पिपरा अस्पतालमा आउट प्यासेन्ट र इन प्यासेन्टको छुट्टाछुट्टै व्यवस्थापन गरी प्रभावकारी स्वास्थ्य सेवा दिने योजना रहेको छ, डाक्टर क्षेत्रीले भन्नुभयो,’ ‘दैनिक स्वास्थ्य परिक्षण गरी फर्कने र भर्ना गरी उपचार गर्ने विरामीलाई अलग अलग व्यवस्थापन गरी उपचार गर्दा प्रभावकारी हुन्छ ।’

अस्पतालमा आधारभूत सेवा डेन्टलको तयारी, व्यवस्थित ल्याव, पोष्टमार्टम लगाएतका सेवा थप्न सकिने बताउदै उहाँले भन्नुभयो, ‘यसका लागि पुरानो भवन र नयाँ भवनबाट व्यवस्थित गर्न सकिन्छ’ ।

नेपाल सरकारले अस्पतालबाट ७१ प्रकारका निशुल्क औषधी उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८० मंगलबार ००:००  ४ : १३ बजे