१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यस्तो बन्नेछ बुटवल-गोरुसिंगे-चनौटा सडक, पहिलो खण्डको डिजाइन तयार



काठमाडौँ ।
बुटवल-गोरुसिंगे-चनौटा सडक विस्तारको पहिलो खण्ड बुटवल-गोरुसिंगेसम्मको ५० किलोमिटर सडकको डिजाइन बनाउने काम सकिएको छ।

बुटवल-गोरुसिंगे सडक विस्तार पहिलो खण्डको डिजाइन तयार भइसकेको छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा बनेको सो डिजाइन स्वीकृत समेत भइसकेको छ। डिजाइन अहिले विश्व बैंकको नो अब्जेक्सनका लागि पठाइएको आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठले बताईन।

‘हामीले डिजाइनको काम सकेर विभागदेखि सबै निकायसँग स्वीकृति लिएका छौं,’ उनले भनिन्, ‘उक्त डिजाइन अहिले विश्व बैंकमा पठाइएको छ। विश्व बैंकले नो अब्जेक्सन गरेपछि मात्र ठेक्का लगाउन मिल्छ। नागढुंगा-मुग्लिन सडकमा पनि यही प्रक्रिया भएको थियो।’

बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर सडक चार लेनमा विस्तार गर्न लागिएको हो। यो सडक निर्माणका लागि एडीबीसँगको समन्वयमा डीपीआरको काम सम्पन्न भएको हो।

यो सडक विस्तारमा लगभग ३० वटा सानाठुला पुलहरु पनि निर्माण हुने उनले बताईन। यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु पनि निर्माण हुनेछन्। यस्तै ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्ने श्रेष्ठले बताईन।

अहिले यस्ता पुराना सडकहरु रहेको पूर्व( पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड विस्तारको काम भइरहेको छ। यसका लागि विश्व बैंक र एसियाली विकास बैंकहरुको ऋण सहयोग छ। यो ६९ किलोमिटर सडक निर्माणका लागि पनि विश्व बैंकको ३५ अर्ब ऋण सहयोग छ।

जसमा विश्व बैंकले नेपालको सडक स्तरोन्नतिका लागि २७५ मिलियन डलर अर्थात करिब ३५ अर्ब रुपैयाँ सहयोग गरेको हो। विश्व बैंकले एक्सेस कार्यक्रमअन्तर्गत यो परियोजनामा लगानी गर्ने गरी सम्झौता भएको हो।

आयोजनामा पार्कलगायत सहरी विकासका विभिन्न पूर्वाधार पनि सडकसँग निर्माण गर्ने योजना तथा डिजाइन छ।

बहुवर्षीय योजनाअनुसार यो सडक आयोजनामा निर्माण हुनेछ। यसमा दुईवटा खण्ड रहेका छन्। जसमा एउटा बुटवलदेखि चनौटासम्मको सडक चारलेनमा विस्तार गर्ने र अर्को तिनाउमा सिग्नेचर ब्रिज निर्माण गर्ने रहेको छ।

यो परियोजनाको दोस्रो खण्डअन्तर्गत तिनाउमा बन्ने पुल नेपालमै अहिलेसम्मको नयाँ प्रविधिको हुनेछ। यसको लागि पनि पूर्व तयारीका कामहरु भइरहेको श्रेष्ठले बताइन।

गोरुसिंगेदेखि चनौटासम्म डिजाइन गर्न परामर्शदाता छनोट

गोरुसिंगेदेखि चनौटासम्म १९ किलोमिटर सडक पनि विस्तार गर्न लागिएको छ। अहिलेसम्म उक्त खण्डको कुनै काम पनि अगाडि बढाइएको छैन। आयोजनाले परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। अब केही दिनमा सम्झौता हुन मात्र बाँकी रहेको श्रेष्ठले बताईन।

गोरुसिंगे-चनौटा सडकखण्डको १९ किलोमिटरका लागि विस्तृत इन्जिनियरिङ सर्भेक्षण र स्तरोन्नतिको डिजाइन गर्न र सोही खण्डमा वातावरण मूल्यांकनका लागि स्तर वृद्धि कार्य गर्न तथा सडक र पुलसमेत काम गर्न निर्माण पर्यवेक्षकका लागि विभिन्न ८ वटा परामर्शदाता कम्पनी सर्टलिस्टमा परेका थिए।

उनका अनुसार एलईए एशोसियट्स साउथ एसिया आयोजनाको सुपरभिजन र डिजाइनका लागि छनोट भएको छ। यो परामर्शदातालाई ८ वर्षको लागि आयोजना हेर्न जिम्मेवारी हुनेछ।

त्यसका लागि आयोजनाले परामर्शदातालाई नेपाल सरकारले ३२ करोड ४२ लाख ६४ हजार रुपैयाँ र विश्व बैंकले करिब १६ करोड गरेर कुल ४८ करोड ९७ लाख ८५ हजार रुपैयाँ दिइनेछ।

श्रेष्ठका अनुसार केही समयमा परामर्शदातासँग सम्झौता गरेर गोरुसिंगे-चनौटाको १९ किलोमिटर सडकको डिजाइनको काम सुरु हुन्छ। सम्झौता भएको मितिले ७ महिनाभित्र परामर्शदाताले डिजाइनको काम सक्नुपर्ने उनले बताईन।

परामर्शदाताले बुटवल-गोरुसिंगेसम्मको सडक निर्माणको अनुगमनको काम गर्नेछ। निर्माणको तीन वर्षको अवधि र निर्माण सम्पन्न भएको ५ वर्षको मर्मतको कामहरु पनि यसै परामर्शदाताले हेर्नेछ।

यी सडक विस्तारसँगै पूर्व-पश्चिम राजमार्गमा हुने सवारीको चाप घट्नेछ। ‍बढ्दो सवारी चापसँगै राजमार्गका सडक विस्तार कार्य समेत बढ्दै गएको हो।

सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राख्दै यो वर्षको लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको छ। यो खण्डको आयोजनाको लागि भने ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको आयोजनाले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८० बुधबार ००:००  १० : ०३ बजे