२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024

चराहरूका लागि स्वर्ग ‘जगदीशपुर ताल’



कपिलवस्तु ।
जगदीशपुर ताल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका–९ र १० स्थित जगदीशपुर भन्ने ठाउँमा अवस्थित रहेको छ ।

पाहुना चराहरूको थलो कपिलवस्तुको जगदीशपुर ताल ४५ वर्ष अघिसम्म गाउँ थियो । थारु समुदायको बाहुल्यता रहेकोले यो गाउँलाई जगदीशपुर थारु गाउँ भनिन्थ्यो । गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो । त्यही तालमा गाउँलेहरू पौडी खेल्ने, भैँसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे । प्रशस्त खेतीयोग्य जमिन भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा भने थिएन । उत्तरी क्षेत्रमा वाणगंगा र कोइली नदीबाट कुलो र नहरमार्फत खेतमा सिँचाइ गरिए पनि दक्षिणी क्षेत्रमा त्यो सुविधा थिएन ।

सिँचाइको समस्या समाधानको लागि वि.सं. २०३५ सालमा सिँचाइ प्रयोजनको लागि वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले लक्ष्मणघाटमा बाँध बाँधेर जगदीशपुरमा जलाशय निर्माण गर्ने र त्यहीबाट सयौँ हेक्टर जमिन सिँचाइ गर्ने योजना अगाडि सारेको थियो । त्यही सिँचाइको लागि कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० मा बनाइएको जलाशय अहिले चराहरूको लागि स्वर्ग र आकर्षक पर्यटकीय स्थलको रूपमा जगदीशपुर तालको नामबाट देशभर प्रख्यात छ ।

करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ । यो ताल नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरूमध्ये सबैभन्दा ठुलो ताल हो । ४,७५०,००० घन मिटर क्षमता रहेको यो तालको गहिराइ ३ मिटर रहेको छ । सन् २००३ सालमा रामसार सुचीमा सुचीकृत भएको यो ताल कपिलवस्तु जिल्लाको महत्वपूर्ण धरोहर हो ।

यस तालमा ४६ प्रजातिका माछा,घस्रने प्रजातिका ४२ उभयचर प्रजातिका १० तथा स्तनधारी समूहका समेत प्राणीहरू रहेका छन् । साथै यहाँ गर्मी याममा बसाई सर्ने ७ प्रजाति,जाडो याममा बसाई सर्ने ६४ प्रजाति र अन्य रैथाने प्रकृतिका प्राणीहरु रहेका छन् । विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चराहरू प्रशस्त मात्रामा आउने गर्दछन् ।

यस्ता आगन्तुक चराहरू जाडो तथा गर्मी मौसम छल्न आई पुन आफ्नै मुलुक फर्कने गर्दछन् । विभिन्न प्रजातिका जलचर तथा थलचर प्रजातिका प्राणीहरू प्रशस्त पाइने यस तालमा स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन् । साइबेरिया, रुस, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरू आउने गरेको पाइन्छ । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाईएको छ ।

ताल सन् २००३ अगस्तमा रामसार साइटमा सूचीकृत भएको थियो । कृत्रिम रूपमा बनाइएको मुलुककै ठुलो यस जगदीशपुर तालमा १ सय १८ बढी प्रजातिको चराचुरुङ्गी पाइने पक्षी संरक्षण संघले जनाएको छ । एसियाको दोस्रो ठुलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ ।

कपिलवस्तुको सानको रूपमा रहेको यो जलाशय उचित संरक्षण र संवर्धनको अभावमा प्रख्यात हुन सकेको छैन । पर्यटकीय क्षेत्र तथा जगदीशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै नजिकै थारु होमस्टेहरू पनि छन् । पर्यटकहरूलाई आकर्षित गर्न विगत पाँच छ वर्षदेखि तालमा डुङ्गा सञ्चालन गरिएको छ । चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा वासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ । तालको वरिपरि डिलबाट हिँडडुल गर्न र चराहरू अवलोकन गर्न पाइन्छ ।- मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ आश्विन २०८० आइतबार ००:००  १२ : ३३ बजे