१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

वैज्ञानिक समाजवाद स्थापना गर्नुको बिकल्प नभएकोमा जोड



कपिलवस्तु ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले वैज्ञानिक समाजवाद स्थापना गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन्।

नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्बिनी व्यूरो अन्तरगत पूर्वी कपिलवस्तुद्धारा बिहीवार आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।

नेता विषम सीले वर्तमान दलाल संसदीय व्यवस्थाको विकल्प भनेकै नेपाली माटो सुहाउँदो, नेपाली विशेषताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था मात्र भएको ठोकुवा गर्दै नेपालमा विद्यमान दलाल पुँजिवादी राज्यसत्ताको कारण देश इतिहाँसकै सर्वाधिक संकटमा रहेकोले असफलसिद्ध दलाल संसदिय व्यवस्था खारेज गरी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार र मनोरञ्जन जस्ता अत्यावश्यक विषयहरु राज्यको दायित्वमा रहेको सुन्दर व्यवस्था वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय निकै चर्चामा रहेको राष्ट्रघाती एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई पराधिन मुलुक बनाउने अमेरिकी षड्यन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश एक ढिक्का भई स्वाधिनताको लडाईमा जुट्नुपर्ने बताए । अहिले देशमा दलाल पुँजिवादी संघीयता रहेको र अब त्यसको ठाउँमा समाजवादी संघीयता रहने पनि उनले बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिटव्यूरो सदस्य तथा पश्चिम लुम्बिनी व्यूरो इन्चार्ज सन्जिव सीले “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

अवधारणापत्रमा राष्ट्रिय स्वाधिनताको संकट अन्तरगत सन् १८१५ देखि यता विभिन्न समयमा भारतसँग गरिएका सम्झौता र हालसालै एमसीसीको नेपाल प्रवेश, जनतन्त्र र जनजीविकाको संकट, वर्तमान संकटको समाधान, समाजवादी मोर्चा र नेपाली विशेषताको समाजवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना लगायतका विषयहरु समेटिएको छन् ।

उक्त अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले वर्तमान राष्ट्रिय संकटको एकमात्र समाधान दलाल पुँजिपती चरित्रको व्यवस्था खारेज गरी नेपाली विशेषताको समाजवाद नै रहेको निष्कर्ष निकालेका थिए ।

कार्यक्रममा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका केन्द्रिय सल्लाहकार पिताम्बर आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार रामलौटन तिवारी, नेकपा (एस) का जिल्ला अध्यक्ष गीता अन्जान, वामपन्थी नेता मेघराज ज्ञवाली, जसपाका जिल्ला सचिव शिवलाल यादव, मधेश मानव अधिकार गृहका रामदयाल ठाकुर, नागरिक उन्मुक्ति पार्टीका भग्गु थारु, जनमोर्चाका रामप्रसाद बेलवासे, नेकपाका हिमलाल वाग्ले, नागरिक समाज कपिलवस्तुका दोलक पछाई, लोकतान्त्रिक समाजवादीका रविन्द्रनाथ मिश्र, नेकपा एमालेका भेषराज पाण्डे, राप्रपाका भुमिराम गिरी, उद्योग तथा व्यापार संघ कपिलवस्तुका अध्यक्ष कपिल पौडेल, वनपैदावर महासंघ लुम्विनी प्रदेश अध्यक्ष रुक बहादुर भुसाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रस्तुत अवधारणापत्रमाथि टिप्पणी तथा विचार मन्तव्य राखेका थिए ।

कार्यक्रम नेकपाका केन्द्रिय सदस्य तथा पुर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीको अध्यक्षता, जिल्ला सेक्रेटरी दिपक सीको स्वागत मन्तव्यसँगै पुर्वी कपिलवस्तु जिल्ला सचिवालय सदस्य गणेश सीको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८० शुक्रबार ००:००  १ : २२ बजे