१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार शुद्धिकरण सूचिप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन प्रेस चौतारीको माग



काठमाडौं ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता सूचिप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन प्रेस चौतारी नेपालले माग गरेको छ । प्रेस चौतारी नेपालको सचिवालयको शनिबार बसेको आकस्मिक बैठकले नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नाममा यहि २६ असोजमा जारी विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सूचि सच्याउन माग गरेको हो।

बैठकपछि प्रेस चौतारीका महासचिव हिरा लामाले जारी गरेको विज्ञप्तिमा शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक गरिएको भनी दाबी गरिएको महासंघका सदस्यहरुको सूची देखेर प्रेस चौतारी नेपाल आश्चर्यचकित भएको उल्लेख छ ।

श्रमजीवी पत्रकारहरुलाई सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित गरेर जारी गरिएको सूचीप्रति प्रेस चौतारी नेपालले आपत्ति प्रकट गरेको छ । महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको संगठन नभई कुनै अमूक राजनीतिक दल र समूहको भातृ संगठनको रुपमा बदल्ने प्रयास गरिनु बिडम्बनापूर्ण छ ।

यो अग्रजहरुको कष्टसाध्य संघर्ष, योगदान र बलिदानबाट स्थापित आम नागरिकहरुको पनि भरोषायोग्य संगठनको गरिमा र सामाजिक स्वीकारोक्तिलाई कमजोर बनाउने प्रयास हो ।

नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धीकरण गर्दै व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा र गौरवमय संगठनको रुपमा विकास गर्न प्रेस चौतारी दृढ रहेको पुनः स्मरण गराउँदै नेपाल पत्रकार महासंघले निर्धारण गरेका १५ बूँदे मापदण्ड, नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न ८ र ९ पुस २०७९ साधारणसभाबाट गरिएको सर्वसम्मत निर्णय, श्रमजीवी पत्रकारहरुको संगठनबीच भएका सहमति र भावना विपरित छ सार्वजनिक सूचि चौतारीलाई मान्य नहुने स्पष्ट पारिएको छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा सार्वजनिक नाम उपर मात्रै दाबी विरोध, सफाइको मौका र न्यायका लागि आह्वान गर्ने समय निर्धारण गरिनु गलत भएको चौतारीको भनाई छ । तसर्थ, सार्वजनिक सूचीमा समावेश गरिएका गैरपत्रकारहरुलाई शुद्धिकरण मापदण्ड अनुसार हटाएर सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित क्रियाशिल पत्रकारहरुलाई सूचीमा समावेश गर्न प्रेस चौतारीले माग गरेको छ ।

अन्यथा, प्रेस चौतारी पत्रकार महासंघको गरिमा रक्षा, गौरवममय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरुको हितरक्षाको निम्ति जस्तोसुकै कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व हुने महासचिव हिरामान लामाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८० शनिबार ००:००  ४ : ४५ बजे