१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इजरायलको कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुगेको चीनको प्रतिक्रिया



एजेन्सी ।
चीनले इजरायलको कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुगेको बताएको छ । चीनका विदेशमन्त्री वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताउनुभएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।

विदेशमन्त्री यीले इजरायलले गाजाका बासिन्दालाई सामूहिक दण्ड दिन रोक्नुपर्ने पनि बताउनुभयो । चीनले इजरायल–हमासबीचको सङ्घर्ष रोक्नका लागि र शान्ति वार्ता अघि बढाउन आउँदो हप्ता विशेष दूत पठाउन लागेको पनि जानकारी गराएको छ ।

यसैबीच इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । हमासका नेता इस्माइल हानियासँगको भेटपछि इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियनले इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रणबाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासले गरेको आक्रमणबाट एक हजार तीन सय जना र इजरायली सेनाले गरेको कारबाहीबाट दुई हजार तीन सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

अहिले हमासको अवरोधका बीच पनि उत्तरी गाजाका मानिसहरू दक्षिणतर्फ भागिरहेका छन् । उत्तरी गाजा खाली गर्न उर्दी जारी गरेको इजरायली सेनाले गाजाको सीमा क्षेत्रबाट स्थलगत गोलावारी पनि शुरु गरेको बीबीसीले जनाएको छ । सहरमा भने सेना पुगिसकेको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८० आइतबार ००:००  ७ : ४७ बजे