११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

बाणगंगा नगरको लोगो छनौट समितिको संयोजकमा वडाध्यक्ष गिरी



बाबुराम रायमाझी, मायादेवी अनलाइन ।

बाणगंगा नगरपालिका नगर कार्यपालिकाको वैठक बुधवार सम्पन्न भएको छ । वैठकले नगरपालिकाले नगरको लोगो छनौटका लागि वडा न. ७ का वडाध्यक्ष विष्णु गिरीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति गठन गरेको छ । जसको सदस्यहरुमा वडा न. ६ का वडाध्यक्ष करुण टण्डन, वडा न. १० का वडाध्यक्ष यमप्रसाद पोख्रेल, कार्यपालिका सदस्य शान्ता पाण्डे र नगरपालिकाका सूचना अधिकृत मिलन पोख्रेल सदस्य सचिव रहेका छन् ।

नगरपालिकाले आफ्नो नगरका धार्मिक एतिहासिक, पुरातात्त्विक, मठ, मन्दिर , पर्यटकिय जस्ता महत्वपुर्ण पहिचान झल्कने खालको लोगोको लागि गत २०८० असार १५ गते एक सूचना प्रकाशित गरेको थियो। सोहि सूचना अनुसार हालसम्म नगरका ३२ वटा नमुना नगरपालिकामा पेश भएका छन् । वाणगंगा नगरपालिका नगर कार्यपालिकाको बैठकबाट लोगो छनौट समितिको संयोजकमा चयन भएपछी बिधिसम्बत प्रक्रिया अनुसार उत्कृष्ट लोगो छनौट गरिने मायादेवी अनलाइन बताए ।

लोगो छनौट समितिका संयोजक गिरीका अनुसार नगरपालिकाले गत असार १५ गते लोगो निर्माणका लागि सार्वजनिक सुचना जारी गरेको थियो । समितिले संकलित लोगोहरु मध्ये उत्कृष्ट पाँच लोगो छनोट गर्ने र ति लोगो बनाउने व्यक्तिहरुलाई नगरपालिकामा व्याख्या विश्लेषणका लागि बोलाइने छ ।

लोगो बनाउने व्यक्तिहरुको आफ्नो व्याख्या र लोगोको परिचयसहित उत्कृष्ट लोगो बाणगंगा नगरपालिकाको आफ्नो चिन्ह अर्थात लोगोको रुपमा नियमित प्रयोगमा ल्याउने गिरीले जानकारी दिएका छन् । प्रतिस्पर्धी मध्ये नगरको सबैमध्ये उत्कृष्ट लोगो निर्माण गर्ने व्यक्तिलाई ३० हजार बराबरको रकमबाट पुरस्कृत गरिने संयोजक गिरिले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८० बुधबार ००:००  ९ : ५४ बजे