११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

यो महिना पछि बजारमा चिनी सजिलै पाइने सरकारको दाबी



काठमाडौं ।
सरकारले यो महिना पछि बजारमा चिनी सजिलै पाइने जनाएको छ । नेपालमा नै उखुको क्रसिङ शुरु भइसकेकाले यो महिना पछि चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको हो ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार भारतबाट चिनी ल्याउँदा महँगो पर्ने भएकाले अहिलेलाई आयात रोकिएको छ । आयात नहुँदा र नेपालमै उत्पादन पर्याप्त नहुँदा अहिले चिनीको अभाव देखिएको उहाँको भनाइ छ । तर, अब कतिपय स्वदेशी चिनी मिलले उत्पादन शुरु गरिसकेकाले र केहीले यो महिनाको अन्तिमदेखि उत्पादन थाल्ने भएकाले अर्को महिनादेखि सहज रुपमा चिनी पाइने बताउनुभयो।

बजारमा दशैँदेखि नै चिनीको अभाव छ । यसबीचमा सरकारले जीटुजी अर्थात सरकार सरकारमार्फत चिनी आयात गर्ने भनिए पनि आयात हुन सकेको छैन । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो । तर दुवै कम्पनीले महँगो परेको भन्दै चिनी आयात गरेका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था मिलाउन र मूल्य घटाउनका लागि छलफल भइरहेको जनाएको छ । उपभोक्ताले अहिले चिनी किलोको १५० रुपैयाँसम्म तिर्न बाध्य भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८० मंगलबार ००:००  ८ : ३९ बजे