रेसुङ्गा । तीन दिनदेखिको अविरल वर्षाका कारण गुल्मीका मुख्य तीन सडक अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रुद्रवेणी–वामी सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर असोज ८ गते रातिदेखि नै अवरुद्ध छ। कालीगण्डकी गाउँपालिका–२, अर्वेनीको राक्सेमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो।
त्यस्तै, शुक्रबार रातिदेखि मदन भण्डारी राजमार्ग पनि अवरुद्ध भएको छ। रुरुक्षेत्र गाउँपालिका–१, रुरुको स्यालबिसौनामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पहिरोका कारण रुद्रवेणी–वामी सडकसमेत बन्द भएको छ। चन्द्रकोट गाउँपालिका–८ को तल्लोफाँट र वडा नं. ७ को सिस्नेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो। उहाँका अनुसार वर्षा रोकिएलगत्तै सडक खुलाउने काम सुरु गरिनेछ।
जिल्लाका अधिकांश ग्रामीण तथा शाखा सडकसमेत अवरुद्ध भएका छन्।
गुल्मीका १६४ भन्दा बढी स्थान बाढी तथा पहिरोको उच्च जोखिममा छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ मा उल्लेख गरिएका जोखिमपूर्ण स्थानमा सतर्कता अपनाउने, आश्रयस्थलको व्यवस्थापन गर्ने तथा क्षति भएका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सार्नेलगायतका काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो।
उहाँका अनुसार मौसम विज्ञान विभागबाट जारी भएका सबै किसिमका सूचनाहरू जिल्लाबाट आपत्कालीन नम्बरसमेत उल्लेख गरी स्थानीय तह, सञ्चारमाध्यम तथा विभिन्न सञ्चार सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेको छ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेर स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, सडक आयोजना कार्यालयको सक्रियतामा राजमार्ग तथा शाखा सडक खुलाउने, तीनवटै सुरक्षा निकायलाई आवश्यक स्थानमा खटाउने र उद्धार सामग्रीसहित तैनाथ राख्ने काम भइरहेको जोशीले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ।
मुसिकोट नगरपालिका–७, वामीमा सशस्त्र प्रहरीको अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। उक्त बेसले गुल्मी तथा नजिकैको बागलुङको बडिगाड खोला किनारका क्षेत्रमा समेत विपद् प्रतिकार्यमा काम गर्नेछ।
ठूलो वर्षाको सम्भावना भएपछि जिल्लाका केही स्थानीय तहले विद्यालय बन्द गरेका छन्। रेसुङ्गा र मुसिकोट नगरपालिका तथा मदाने, धुर्कोट, कालीगण्डकी र सत्यवती गाउँपालिकालगायत स्थानीय तहले विद्यालय बन्द गरेका हुन्।
जिल्लाको मुख्य नदी बडिगाडको किनारमा रहेका भुवाचिदी, मजुवा, जोहाङ, उल्लिखोला, चोरकाटे, रुद्रवेणी र रिडी बाढीको जोखिममा छन्। कालीगण्डकी नदीको बहाव बढेपछि रिडी बजारको लामाचौपारीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी २७ जनाले ज्यान गुमाएका छन्।
बडिगाड खोलामा बाढीको पूर्वसूचना दिन राखिएको पूर्वसूचना प्रणाली तत्काल सञ्चालन गर्न स्थानीयले माग गरेका छन्। बडिगाड नदी किनारका मुख्य पाँच स्थान तथा प्रशासन र तीनवटै सुरक्षा निकायका कार्यालयमा पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिए पनि मर्मतसम्भार नहुँदा पाँच वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन्।









प्रतिक्रिया