९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

बाणगंगा नदीमा पसेका एक जना बेपत्ता



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदीमा पसेका एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब ३ बजे बाणगंगा नदीको पुलमाथिबाट कपडा खोलेर नदीमा पसेका व्यक्ति केही परसम्म बग्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनापछि सुरक्षाकर्मीले नदीमा खोजी सुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार अन्दाजी ५० वर्षीय पुरुषले कपडा खोलेर पुलबाट नदीमा हाम्फालेका थिए । उनलाई केही परसम्म बग्दै गरेको स्थानीयले देखेका थिए । प्रहरीका अनुसार बेपत्ता हुनेमा बाणगंगा नगरपालिका–८, मधुवनधाम निवासी नारायण बेल्वासे रहेका छन् ।

बेल्वासेको खोजीका लागि इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जना, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना र मातहतका प्रहरीबाट प्रहरी नायब निरीक्षक इन्द्रप्रसाद सुवेदीको कमान्डमा १० जनाको टोली परिचालन गरिएको छ । नदीमा बेपत्ता बेल्वासेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३ शुक्रबार ००:००  ५ : २७ बजे