१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बन उपभोक्तालाई कमजोर बनाउने खेल खेलियो : महासंघ



वाणगंगा ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक बनको क्षेत्रमा उल्लेखीय प्रगति हासिल भएको बताउनुभयो । सामुदायिक बन मार्फत बन संरक्षण, उपभोक्ताको अधिकार र समुदायको विकासमा धेरै उपलब्धी आएको चर्चा गर्दै सामुदायिक बन उपभोक्ता महासंघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले बन सम्वर्धन र संरक्षणमा लागेर आर्थिक सामाजिक विकासमो जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय सामुदायिक बनमा बजेटको श्रोत जुटेकाले यसलाई पारदर्शी बनाएर खर्च गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । आर्थिक पाटोमा पर्दर्शी हुनुपर्छ अनि हाम्रा आवस्यकता र योजना समाधान हुन्छन् त्यसमा उपभोक्ता सचेत हुनुपर्दछ, नगर प्रमुख श्रेष्ठले भन्नुभयो।
विगत केही समयदेखि बन क्षेत्रमा कपिलवस्तुका उपभोक्ताहरु विभाजित हुँदा संस्थाहरु कमजोर हुन थालेको बताउनुभयो । बन संरक्षण र विकासका लागि धेरै संस्था बनाएर काम गर्नुभन्दा एउटै संस्थालाई बलियो र प्रभावकारी बनाउन सुझाव दिनुभयो । बन क्षेत्रमा २ वटा संस्था हुनुहुन्न, जसले गर्दा हाम्रो मुद्धा कमजोर बन्छ र हामीलाई कमजोर बनाउछ । सामुदायिक बनमा आवद्ध उपभोक्ताको हक हितका लागि एक भएर जानुपर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँले विकास निर्माणमा लागत साझेदारीबाट काम गर्दा धेरै प्रभावकारि देखिएको हुँदा बन समूहलाई नगर र वडा संग सहकार्य गरेर जान आग्रह गर्नुभयो । उहाँले पदाधिकारी चनाखो र सक्षम भएर बनको आम्दानीलाई सहि सदुपयोग गरेर जानु पर्ने बताउनुभयो । उहाँले सामुदायीक बनको हक हितमा लाग्न प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।
डिभिजन बन कार्यालय तौलिहवा कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले एजेण्डाका आधारमा सामुदायिक बन उपभोक्ता महासंघसंग नजिक र टाढा हुने बताउनुभयो । उहाँले काखा र पाखाको दृष्टिकोणले नभई एजेण्डाका आधारमा सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले सामुदायिक बन उभोक्ता महासंघको बनको दिगो व्यवस्थापन, सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने मुल नारामा सहयोग र सहकार्य गर्ने बताउनुभयो । बन कर्मचारीलाईलाई बैज्ञानिक बन व्यवस्थापन समूहलाई बढि उचालेर महासंघलाई कमजोर बनाउन खोजेको आरोप लाग्ने गरेको छ ।
त्यस्तै महासंघका केन्द्रिय सदस्य बालिका बुढाथोकीले सरकारले खारेज गरेको वैज्ञानिक बन व्यवस्थापन महासंघलाई बन कर्मचारीले प्रवर्धन र प्रसय दिएको बताउनुभयो । उहाँले कर्मचारीले सामुदायिक बन उपभोक्ता समूहलाई असहयोग गरेको स्पष्ट पार्नुभयो ।

प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईले सामुदायिक बन उपभोक्ता महासंघले ठुलो संघर्ष गरेर आम उपभोक्ताको हक अधिकार स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले डिभिजन बन कार्यालय कपिलवस्तुले वैज्ञानिक बन व्यवस्थापन महासंघ र सामुदायिक बन उपभोक्ता महासंघलाई गर्ने व्यवहार फरक र विभेदपूर्ण भएको बताउनुभयो । उहाँले बन कर्मचारीको काखा र पाखाको व्यवहारले सामुदायिक बन उपभोक्ता समूह मारमा परेको बताउनुभयो । कार्यक्रममा पत्रकार मोहन वेल्वासे, नगर महासंघ अध्यक्ष इन्द्रमणी पौडेल लगाएतले सामुदायिक बन उपभोक्ता समूहको बन संरक्षणमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै सरकारी संयन्त्रले काखा र पाखाको व्यवहार हुनु दुखदायी भएको बताएका थिए ।

महासंघका जिल्ला अध्यक्ष जयलाल गिरीको अध्यक्षता, सचिव लेम बहादुर गुरुङको संचालनमा सम्पन्न भएको थियो। सोही अवसरमा सामुदायिक बनका पदाधिकारीले विभिन्न समस्या र जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१ शनिबार ००:००  ९ : १८ बजे