१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामुदायिक वनमा पारदर्शी र सुशासनको खाँचो



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक बनहरुमा सुशासन र पारदर्शीता खाँचो भएको बताउनुभयो । उहाँले बनहरुमा आम्दानीको श्रोतहरु बढ्दै जाँदा संस्थालाई सुदृढ र बलियो बनाउन सुशासन र पारदर्शीतामा जोड दिनुपर्ने औल्याउनुभयो । बाणगंगाको चारनम्बरमा आयोजित सामुदायिक बनका पदाधिकारीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको थियो ।

नगर प्रमुख अर्यालले सामुदायिक वनहरुलाई नगरको बार्षिक योजनामा आफना योजना र कार्यक्रम समावेश गरी साझेदारी मार्फत समुदायलाई अधिक्तम फाइदा पुरयाउन सकिने बताउनुभयो । उहाँले वनको आर्थिक श्रोत व्यवस्थापनका लागि सामुदायिक वनले लघु उद्यम विकास कार्यक्रमलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । नगरपालिकासंग सामुदायिक वनसंगको समन्वय र सहकार्य अझ बढाउनुपर्ने बताउनुभयो ।

वन विज्ञ घनश्याम पाण्डेले वैज्ञानिक बन व्यवस्थापनका नाममा अवैज्ञानिक कार्य भएकाले नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन पद्धती खारेज गरेको बताउनुभयो । उहाँले सरकारले गरेको निर्णय तथ्यमा आधारित भएकाले सामुदायिक बनको पारदर्शी र सुशासन प्रमुख मुद्धा भएको बताउनुभयो ।

ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष समेत रहेका पाण्डेले विगतमा सामुदायिक वन उपभोक्ता महासंघले वन क्षेत्रको संरक्षण, सम्वर्धन र विस्तारमा उल्लेखनीय योगदान पुरयाएको चर्चा गर्नुभयो । सामुदायिक वन उपभोक्ता समुहलाई सामुदायिक बनमा पहुँच र अधिकार, प्रतिनिधीत्व र आर्थिक सशक्तिकरणमा राम्रो काम गरेकाले नेपालमा सामुदायिक वन सफल रहेको उल्लेख गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष समेत रहेका पाण्डेले बन उपभोक्ता समूहलाई अधिकार दिनुपर्दछ भनेर पैरवी गर्दै आइरहेको बताउनुभयो । उपभोक्ताले आवश्यकताका आधारमा आफै निर्णय गर्ने प्रकृया नै लोकतान्त्रिक भएकाले साधारण सभाको सर्वोच्चतालाई कसैले कुण्ठित गर्न नसक्ने पाण्डेले बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले स्थानीय सरकार सामुदायिक वनसंग समन्वय र सहकार्य गरेर अघि बढेको जानकारी दिनुभयो । वन समूहहरुले उद्यम प्रवर्धनमा नमुनाको रुपमा काम गरेर देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । लागत साझेदारीलाई नगरले मुख्य प्राथमिकता दिएकाले वनको श्रोत ब्यबस्थापनलाई प्रभावकारी बनाउदै सामुदायिक विकाससंगै क्षमता अभिवृद्धिमा सहकार्यको अवधारणामा अघि बढेको बताउनुभयो ।

कार्यक्रममा फेकोफनका केन्द्रिय सदस्य बालिका बुढाथोकी, प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराई, शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झलक बहादुर मल्ल, मनकामना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष पुष्कर घिमिरे लगाएले जिज्ञासा र प्रश्न राख्नुभएको थियो ।

कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष जयलाल गिरीको अध्यक्षता तथा सचिव लेम बहादुर गुरुङको संचालनमा सम्पन्न भएको थियो । ग्रिन फाउण्डेशन नेपालको सहकार्यमा सहभागितामुलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रम संचालन भएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१ आइतबार ००:००  ९ : ३४ बजे