काठमाडौं ।
आधा शताब्दीसम्म कम्युनिष्ट भएर पनि सीताराम येचुरीको बारेमा केही पनि सैद्धान्तिक वा कट्टरपन्थता थिएन । उनी सधैं मिलनसार व्यक्तित्व थिए ।
उनी सन् १९७५ मा कम्युनिष्ट पार्टीमा प्रवेश गरे । सोही वर्ष इन्दिरा गान्धीले देशमा सङ्कटकाल घोषणा गरेपछि यचुरी जेल जान बाध्य भए ।
त्यहाँबाट सुरु भएको राजनीतिक यात्राले उनलाई भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) को महासचिव बनाइदियो । उनले सन् २०१५ देखि पार्टीको नेतृत्व गर्दै आएका थिए ।
सीताराम सन् १९९२ देखि पार्टीको पोलिटब्यूरो सदस्य थिए । कम्युनिष्ट भएपनि उनी अलिकति उदारवादी र मध्यमार्गी नेताजस्तै थिए ।
लामो समयदेखि बिरामी रहेका उनले दिल्लीको एम्स अस्पतालमा ७२ वर्षको उमेरमा बिहीबार अन्तिम सास फेरे ।
उनको बारेमा सोच्दा मनमा अनेकौं विचार आउँछन् । उनी एक विद्वान, एक विचारक, एक सुशिक्षित लेखक थिए, जसले निरन्तर विचारहरूसँग सङ्घर्ष गर्थे ।
सन् १९७७ मा उनले दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनको चुनाव जित्दा क्याम्पसमा निकै हलचल मच्चिएको थियो । त्यतिबेला उनले महासङ्घको बैठक बोलाउँथे र बिहानसम्म छलफल चलाउँथे ।
एक कुशल वक्ताको रूपमा उनले आफ्ना स्रोताहरूको मूड बुझ्न सक्थे र मानिसहरूलाई उनका विचारहरूसँग सहमत गराउन उनले के भन्नुपर्छ भनेर निरन्तर रूपमा बुझ्ने प्रयास गर्थे ।
यचुरी जब जेएनयू विद्यार्थी सङ्घका अध्यक्ष थिए, सी राजा मोहन महासचिव थिए । उनी भन्छन्, “उहाँ जटिल समस्याहरू सम्हाल्ने क्षमता राख्नुहुन्थ्यो र एक धेरै राम्रो संयोजक हुनुहुन्थ्यो तर, सबैभन्दा ठूलो उहाँ मानिसहरूको मन जित्न जान्ने व्यक्ति हुनुहुन्थ्यो ।”
भारतजस्तो गरिब र विकासोन्मुख देशमा उनको पार्टी कहिल्यै मूलधारको शक्ति बन्न सकेन । केरला, पश्चिम बङ्गाल र त्रिपुराबाहेकका राज्यमा उनको पार्टी किन सफल हुन सकेन भन्ने बहस चलिरहेको छ ।
यसका बाबजुद पनि येचुरीलाई समावेशी भारतप्रति प्रतिबद्ध एक प्रमुख वाम नेताका रूपमा मात्र हैन देशको राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्तित्वका रूपमा पनि स्मरण गरिनेछ । विशेष गरी उनले भाजपाको विकल्प सिर्जना गर्न सन् १९८९-२०१४ को बीचमा बनेका धेरै गठबन्धनमा भूमिका खेले ।
यचुरीलाई साथीभाइले ‘सीता’ भन्थे
सीताराम यचुरी विभिन्न राजनीतिक दलसँग मतभेद भए पनि उनीहरूसँग मित्रता गर्नमा माहिर, कहिलेकाहीँ “अर्को हरकिशन सिंह सुरजित” भनेर चिनिन्थे ।
पञ्जाबका सुरजित सन् १९९२ देखि २००५ सम्म सीपीएमका महासचिव थिए । उनको राजनीतिक चतुरता र पर्दा पछाडिको चालले विश्वनाथ प्रताप सिंहलाई सन् १९८९ मा कांग्रेसको राष्ट्रिय विकल्प बनायो ।
सुरजितले सन् १९९६ मा तेस्रो मोर्चाको सरकारलाई सत्तामा ल्याउन मद्दत गरे र सन् २००४ मा बीजेपीलाई सत्ताबाट टाढा राख्न एक पटक फेरि भूमिका खेले ।
यचुरीलाई उनका साथीहरू र सहकर्मीहरूबीच प्रेमपूर्वक “सीता” भनिन्थ्यो ।
सुरजितजस्तै उनले पनि सन् १९९६ मा संयुक्त मोर्चा गठनमा महत्वपूर्ण भूमिका खेलेका थिए । सन् २००४ मा युपीए गठबन्धन र सन् २०२३ मा बन्ने इन्डिया गठबन्धनको तयारीमा पनि सहयोग गरे । त्यो गठबन्धन जसले भाजपालाई २०२४ को चुनावमा आफ्नै बलमा बहुमतमा पुग्नबाट रोकेको थियो ।
जब येचुरीले सीपीएमको ऐतिहासिक गल्तीको कथा सुनाए
सीताराम येचुरीले सन् १९९६ र २००४ मा संयुक्त मोर्चा र यूपीए सरकारहरूको लागि साझा न्यूनतम कार्यक्रम बनाउन मद्दत गरे । पछिका वर्ष उनले सन् १९९६ मा सीपीआई ९एम० ले गरेको “ऐतिहासिक गल्ती” को कथा सुनाए ।
उनले सन् १९९६ मा भारतको पहिलो मार्क्सवादी प्रधानमन्त्री बन्ने अवसर कसरी र किन गुमाए भन्ने कुराको स्मरण गराए ।
त्यतिबेला भाजपा संसदमा बहुमत हासिल गर्न असफल भएको थियो र संयुक्त मोर्चाका नेताहरू सरकार बनाउन तयार थिए । सीपीआई (एम) का नेता ज्योति बसुलाई प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्न आमन्त्रित गरिएको थियो ।
तर, पार्टीको शीर्ष केन्द्रीय समितिले यो प्रस्ताव अस्वीकार गर्यो, जसलाई बसुले पछि “ऐतिहासिक गल्ती” भनेर वर्णन गरे ।
येचुरी यस कदमको विरोध गर्ने तीन-चौथाई सदस्यहरू मध्ये थिए तर, पछिका वर्षहरूमा उनले आफ्नो विचार परिवर्तन गरे कि भनेर थाहा छैन ।
तर, उनी सुरजित र ज्योति बसुसँगै कर्नाटक भवन पुगेका थिए, जहाँ देवगौडा, चन्द्रबाबु नायडू, लालु यादव जस्ता संयुक्त मोर्चाका नेताहरू जवाफको प्रतीक्षामा थिए ।
असहमति भए पनि पार्टीसँग हिँडे
येचुरीले संसद्मा पनि आफ्नो छाप छोडे । उनी १२ वर्षसम्म राज्यसभामा रहे, उनलाई उनको उत्कृष्ट भाषणका लागि याद गरिन्छ, त्यसैले उनलाई एक कुशल सांसदको रूपमा चिनिन्छ ।
उनलाई थाहा थियो कि कुन नियम अन्तर्गत मुद्दाहरू उठाउन सकिन्छ । जब उनको दोस्रो कार्यकाल समाप्त भयो, विभिन्न दलका धेरै सांसद एकजुट भए र उनीहरूको पार्टीले उनलाई फेरि उम्मेदवार बनाउन चाहेको बताएका थिए ।
अनुशासित सिपाहीका रूपमा उनी असहमति भए पनि पार्टीको निर्णयमा साथ दिन्थे ।
उदाहरणका लागि उनी भारत र अमेरिकाबीचको आणविक सम्झौताको मुद्दामा मनमोहन सिंहको सरकारबाट वामपन्थी दलको समर्थन फिर्ता लिने विपक्षमा थिए । तत्कालीन प्रधानमन्त्रीले आफ्नो सरकारलाई जोखिममा पार्ने थाहा पाएरै पनि अघि बढ्न चाहेको विषय यही थियो ।
येचुरीको आफ्ना सहकर्मी र तत्कालीन सीपीएम महासचिव प्रकाश करातसँगको मतभेद पनि राम्रैसँग बाहिर आएको थियो ।
करात र यचुरी प्रतिद्वन्द्वी भए पनि एकअर्काका सहयोगी थिए । यी दुई देशको स्वतन्त्रता पछि देखिएका धेरै राजनीतिक जोडीमध्ये एक थिए, जसले एक तरिकाले भारतलाई आकार दिन मद्दत गरे । नेहरू-पटेल, वाजपेयी-आडवाणी वा मोदी र शाह जस्तै ।
कठिन समयमा सीपीआई (एम) महासचिव
पहिले सोनिया र त्यसपछि राहुल गान्धीसँग उनको सम्बन्ध साथी र गाइडको जस्तै थियो । राहुल गान्धीले देशको भविष्यसँग सम्बन्धित गम्भीर मुद्दाहरूमा येचुरीसँग घण्टौं लामो छलफललाई पनि सम्झाए ।
सन् २००४ देखि २०१४ सम्म कांग्रेसले यूपीए सरकारको नेतृत्व गर्यो र त्यो अवधिमा जब जब कांग्रेस र वामपन्थी दलहरू बीचको सम्बन्धमा गतिरोधको सम्भावना हुन्छ, सोनिया गान्धी येचुरी तर्फ फर्किइन् ।
यचुरीलाई सीपीआईएमको महासचिवको जिम्मेवारी यस्तो समयमा दिइएको थियो, जब भाजपाले शक्तिशाली प्रधानमन्त्रीको नेतृत्वमा देशमा शासन गरेको थियो र देशको राजनीतिमा परिवर्तन ल्याइरहेको थियो ।
यो समय थियो जब सीपीआई ९एम० सान्दर्भिक रहन सङ्घर्ष गरिरहेको थियो । तर, येचुरीले इन्डिया गठबन्धनको रूपमा बीजेपीलाई एक साझा प्लेटफर्ममा चुनौती दिनसक्ने सबै राजनीतिक शक्तिहरूलाई द्रूत रूपमा एकसाथ ल्याइरहेका थिए ।
यचुरीलाई महत्त्वपूर्ण क्षणहरूमा भारतमा विपक्षीलाई एकताबद्ध गर्ने भूमिकाको लागि सम्झिनेछ । तर, उनको भूमिका पर्दा पछाडि नै रह्यो ।
देशको लोकतान्त्रिक र धर्मनिरपेक्ष परम्परालाई कायम राख्न र गरिबहरूलाई नयाँ बिहानी दिन काम गर्ने व्यक्तित्वका रुपमा पनि उनको सम्झना हुनेछ ।
(निरजा चौधरीले बीबीसी हिन्दीमा प्रकाशित आलेखमा आधारित)
प्रतिक्रिया