२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

गौतमबुद्ध विमानस्थलबाट आज तीनवटा अन्तर्राष्ट्रिय उडान हुँदै



काठमाण्डौ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दैछन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

थाई एयर एशियाले हिजो शुक्रवार दोस्रोपटक भैरहवाबाट बैंकक उडान गरेको थियो । थाई एयर एशियाले गएको १८ गते भाइटीकाको दिनदेखि व्यावसायिक उडान शुरु गरेको थियो । कम्पनीले हप्ताको दुई दिन (सोमवार र बिहीवार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । जजिराले हप्तामा तीन दिन मङ्गलवार, बिहीवार र शनिवार उडान भर्नेछ ।

यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाण्डौ भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाण्डौ–दुबई उडान गर्न लागेको हो ।

नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ । हिजोका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडानसमेत आजलाई सारिएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । पछि प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।

फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाण्डौ हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो ।

विमानस्थल उद्घाटन भएको लामो समय भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा निजी क्षेत्र निराश थिए । विभिन्न उडानसँगै विमानस्थलमा चहलपहल बढेको छ भने व्यवसायी पनि केही उत्साहित भएका छन् । रासस

प्रकाशित मिति : २४ कार्तिक २०८१ शनिबार ००:००  ८ : २६ बजे