१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको संयुक्त अनुगमन



दिपा महत, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौरीमा साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ।

रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पीस नेपालले सञ्चालन गरेको साक्षरता तथा बालिका शिक्षा कार्यक्रमअन्तर्गत बिहिबार विद्यालयको पुस्तकालय तथा जीवनोपयोगी सीपको ‘सञ्चार सीप’ सत्रको कक्षा अवलोकन गरिएको हो।

अनुगमनका क्रममा शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका महानिर्देशक दिवाकर भण्डारीले रुम टु रिडको कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको पेशागत विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न सहयोग पुगेको बताउनुभयो। उहाँले कार्यक्रमबाट बढीभन्दा बढी विद्यार्थीलाई लाभान्वित गराउनुपर्नेमा जोड दिनुभयो।

विद्यालयमा कक्षा १ देखि ५ सम्म सञ्चालन भइरहेको साक्षरता कार्यक्रमले विद्यार्थीको ज्ञानको दायरा विस्तार गर्नुका साथै पठन रुचि बढाउन सहयोग पुगेको शिक्षकहरूले बताएका छन्। स्तरअनुसारका विभिन्न रङ्गीन तथा आकर्षक पुस्तक उपलब्ध गराइने र त्यसले बालबालिकालाई पढाइप्रति आकर्षित गरेको बताइएको छ।

विद्यालयकी शिक्षिका रमिता पोख्रेलले कार्यक्रमका कारण विद्यार्थीमा पठन रुचि बढ्नुका साथै उनीहरूको सिकाइ स्तरमा समेत सुधार आएको बताउनुभयो।

रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलले ‘शिक्षित बालबालिकाबाटै विश्वमा परिवर्तनको थालनी हुन्छ’ भन्ने मूल मन्त्रका साथ कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। उहाँका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा सञ्चालन गरिएको बालिका शिक्षा तथा साक्षरता कार्यक्रमबाट हजारौँ विद्यार्थी लाभान्वित भएका छन्।

नेपालका विभिन्न ३३ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले स्थानीय समुदाय तथा साझेदार संस्थासँग समन्वय गरी कार्यक्रम अघि बढाइएको बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक बुद्धिराम अधिकारीले साक्षरता तथा बालिका शिक्षा कार्यक्रमले विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

अनुगमनमा महानिर्देशक भण्डारी, शिक्षा तथा सामाजिक विकास निर्देशानलयका निर्देशक हरिलाल अर्याल, बुद्धभूमि नगरपालिकाका सहायक शिक्षा अधिकृत माधव पौडेल, पीस नेपालका कार्यकारी निर्देशक मणि ग्रैह्रे, रुम टु रिडका फिल्ड कार्यक्रम ब्यवस्थापक दिनेश पोख्रेल, पत्रकार महासंघका उपाध्यक्ष दिपा महत, रुम टु रिडका प्रशासन अधिकृत शिवराज आचार्य, विद्यालयका प्रअ, शिक्षकलगाएतको सहभागिता रहेको थियो ।

यसै क्रममा बिहीबार कपिलवस्तु नगरपालिकास्थित कनकमुनि माध्यमिक विद्यालयको समेत संयुक्त अनुगमन गरिएको थियो।

प्रदेशस्तरीय समीक्षा बैठक सम्पन्न

यसैबीच साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको प्रदेशस्तरीय संयुक्त विद्यालय सुपरिवेक्षण तथा समीक्षा बैठक तौलिहवामा सम्पन्न भएको छ। विद्यालयहरूको अनुगमनपछि आयोजित बैठकमा अनुगमनका क्रममा देखिएका विभिन्न विषय तथा सुधारका पक्षमा छलफल गरिएको थियो।

सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले समग्रमा बालिका शिक्षा तथा साक्षरता कार्यक्रम प्रभावकारी रहेको बताउँदै पठनकार्यलाई विद्यार्थीकेन्द्रित बनाउन, विद्यार्थीको बसाइ व्यवस्थापन सुधार गर्न तथा सहजकर्तालाई थप प्रशिक्षण दिन सुझाव दिनुभयो।

महानिर्देशक दिवाकर भण्डारीले चौरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गरिएको अनुगमनका क्रममा पुस्तकालय, बालिका शिक्षा कार्यक्रमअन्तर्गतको जीवनोपयोगी सीप तथा साक्षरता कार्यक्रम प्रभावकारी रहेको पाइएको बताउनुभयो। यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै निरन्तरता दिन सके विद्यार्थीको शैक्षिक स्तरोन्नतिमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ थियो।

अन्य स्थानीय तहमा समेत यस्ता कार्यक्रम विस्तार गर्न सके प्रभावकारी हुने उहाँले बताउनुभयो।

समीक्षा बैठकमा शिक्षा तथा सामाजिक विकास निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, सञ्चारकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १ आश्विन २०८३ बिहिबार ००:००  ७ : ३६ बजे