२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

महोत्सवकै आकर्षण ‘ग्रीन नर्सरी’



दीपा महत, बुद्धभूमि ।

ढकमक्क फुलेका फूलहरु, किन्ने र अवलोकन गर्नेको भिडभाड । विभिन्न प्रजातीका फूलका विरुवा बेच्न भ्याईनभ्याई छ कमान सिंह दर्लामीको परिवारलाई । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा संचालित चौथो बुद्धभूमि महोत्सवमा दर्लामीको ग्रीन नर्सरी मुख्य आकर्षण बनेको छ । महोत्सव स्थलमा पुग्नसाथ स्टलनम्बर २, ३, ४ र ५ मा रहेको ग्रीन नर्सरीले सबैको ध्यान तानेको हो ।

नर्सरीमा रहेका आर्कषक फूलहरुमा गएर फोटो खिच्ने, भिडियो बनाउने साथै फुलहरु किन्नेको संख्या बढी छ । अर्घाखाँचीको शितगंगा नगरपालिका ३ ठाडा स्थाइ घर भएका कमान सिंह दर्लामीले बुद्धभूमि महोत्सवमा पहिलो पटक आफ्नो नर्सरी राखेका छन् । यसअघि चारनम्वर, चन्द्रौटा तथा तौलिहवामा समेत पुगेका उनि बुद्धभूमि महोत्सवमा पहिलो पटक आएको बताउछन् ।

करिव २० वर्ष पहिले फुलखेती सुरु गरेका दर्लामीले आफुको फूलहरुसंग छुट्टै प्रेम तथा लगाव रहेको बताए । कतिपय पेशाले आफुलाई सन्तुष्ट मिल्ने भन्दै त्यसैको लागि नै आफु आर्टिष्ट फोटोग्राफरबाट पुष्प ब्यवसायी बनेको उनले सुनाए ।

अहिले ग्रीन नर्सरीमा सयपत्री, गोदावारी, जिरेनियम, सिरेनिया, गजेनिया, देन्थस, डबलपिटुनीया, मेरीगोल्ड, डगफलावर, स्टकमाइण्ड, इन्पेसन लगाएत आउटडोर तथा इन्टोर प्लान्टहरु रहेका छन् ।

मंसिर र पुसको महिनामा लाग्ने मेला तथा महोत्सवका कारणपनि फुलको ब्यापार यतिबेला बढी हुने गर्दछ । यस वर्षको तिहारमा ६० हजारको फुल विक्री गरेको भन्दै अन्य समयमा पनि फूलको माग उच्च हुने उनले बताए । फुलखेतीबाट कुल आम्दानीको वार्षिक ४- ५ लाख बचत हुने गरेको उनले सुनाए ।

रहरैरहरमा फुलखेती सुरुगरेका दर्लामीको परिवामा एक श्रीमती तथा छोरी रहेका छन् । आफुले सुरु गरेको नर्सरी बाट सन्तुष्ट रहेको भन्दै ४ जनालाई प्रत्यक्ष रोजगार समेत दिएको बताए । उमेरले ६५ वर्ष नाघेका दर्लामीसंग जोस जागर भने उस्तै छ एस.एल.सी पास गरेका दर्लामीले मल तथा फूल सम्बन्धी प्राबिधिक जानकारीका साथै तालिम पनि दिने गर्दछन् । समुन्द्र सतहदेखि ७०० फुट माथि फुलखेती राम्रो हुने भएकाले पहाडको वातावरण त्यसका लागि उपयुक्त उनको अनुभव छ ।

२०७६ सालमा भने उनलाई ठूलै समस्याको सामना गर्नपर्यो । अविरल वर्षासंगै आएको असीनाले उनको नर्सरीका करिव ३० लाखका फूलहरु नष्ट गरिदियो । त्यो समयमा पनि आफु कति पनि बिचलित नभई धैर्यताका साथ कर्ममा लागेको उनि सुनाउछन् ।

‘त्यतिबेला मन्त्री तथा सांसदहरु धेरै आए तर सबै आश्वासन दिन मात्र सहयोग भने कसैबाट पाएनौ उनले गुनासो गरे ।’ नेपालमै केहि गर्छु भन्नेका लागि सरकारले पनि वातावरण बनाइदिनुपर्ने उनि बताउछन् । सरकारले केहि अनुदानको साथै टनेल बनाइदिएमा आफुहरुलाई धेरै सहज हुने उनको भनाई छ ।

मुख्यतया विउ नेपालमा नपाइने, विउमा रोग लाग्ने तथा प्राकृतिक प्रकोप पुष्प ब्यवसायको मुख्य चुनौती रहेको उनको भनाई छ । लगनशिता तथा धैर्यता भएमा देशमा केहि गर्न सकिने उनि बताउछन् । विदेशमा गर्ने मेहेनत तथा लगानीले नेपालमै केहि गर्न सकिने भन्दै देशमा केहि गर्न चाहानेको लागि सरकारले पनि हेर्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१ शुक्रबार ००:००  ७ : ०९ बजे