दीपा महत, बुद्धभूमि ।
बैरागीलाई बैराग छुटेको, अभागीलाई सधै रिस उठेको, न्याउली रुदा यो मन रुन्छ नि
जुनी काट्नु पर्दैन म संग भेट हुँदा बोले हुन्छ नि ।।
धोका दियौ बैगुनी पापीले, दिलको ढोका खुल्दैन चापीले, न्याउली रुँदा यो मन रुन्छ नि
जुनी काट्नु पर्दैन म संग भेट हुँदा बोले हुन्छ नि ।।
मायाप्रेम तथा बिछोडका यी मिठा शब्दलाई सारंगीको मीठो धुन अनि सुरिलो भाकामा प्रस्तुत गर्दै थिए जुल्फे बहादुर गन्धर्व । उनि बुद्धभूमि नगरपालिका ४ चमरगुनियाका हुन् । मायाप्रेम मात्र होइन उनले प्रस्तुत गर्ने गीतमा समाजका विकृती, बिसंगती तथा यथार्थ कुरा समेटिएको हुन्छ । बर्षौ देखि आफुले यहि पेशा गर्दै आएको जुल्फे बताउछन् ।
जुल्फे उमेरले ६२ वर्षको भए । तर उनमा जोस जागर भने युवाको जस्तै छ । उनिे भारतबाट नेपाल आएको ७ महिना भयो । नेपाल आउन साथ उनि आफ्नो पुख्यौली पेशामा लाग्न थाले । उनि अहिले घरघरमा यस्तै मिठो स्वरमा सारंगीको मिठो धुन बजाएर गीत गाँउदै हिड्छन् । तर पछिल्लो पुस्ताले आफ्नो पेशालाई बिर्सदैै गएकोमा उनि चिन्तीत छन् । उनि भन्छन्, “पहिलेपहिले सारंगी राष्ट्रिय बाजा थियो, गन्धर्वले गाँउने अप्सरा नाच्ने गर्दथे आजभोलि त सारंगी बजाउने मान्छे समेत भेटिदैनन्, अरुको के कुरा गर्नु मेरो छोरालाई पनि सारंगी बजाउ आउँदैन्, हाम्रो पुस्तापछि पेशानै लोप हुने भयो । ”
गन्धर्वको पेशा संरक्षणका लागि भनेर आफु गाँउगाँउमा गित गाँउदै हिडेको उनि सुनाउछन् । अहिले आफु अभियानमै लाग्न थालेको भन्दै सारंगी बजाउन सक्ने संख्या भने सिमित मात्रामा रहेको बताए । उनले भने, “गन्धर्व समुह बनाएर यसको संरक्षण गर्ने योजना थियो के गर्नु सारंगी बजाउन सक्ने १५ जना पनि हुन सकेनौ तर अब हामी एकजुट भएर समुह बनाउने छौ र यसको संरक्षण तर्फ लाग्ने छौ । ” सारंगी बजाएरै बस्नेको संख्या जिल्लामा १० जना पनि नहुुनु दुखद भएको उनि बताउछन् ।
परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वको पुख्र्यौली पेशा अहिले संकटमा भने परेको छ ।
कपिलवस्तुमा सबैभन्दा बढी गन्धर्व समुदायको बसोबास गर्ने स्थान वाणगंगाको गणेशपुर हो । जहाँ करिब सय जना गन्धर्व जाती छन । यसका साथै बुद्धभूमि नगरपालिकामा पनि गन्धर्व जातीको बसोबास छ ।
बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरु अहिले यो पेशा छाडेर अरु पेशा अंगाल्न बाध्य भएको अर्का स्थानीय राम बहादुर गन्धर्व बताउछन् ।
अहिलेका पुस्ताले गायन पेशाप्रति देखाएको उदासीनताले आफ्नो जातिको अस्तित्व नै हराउन सक्ने चिन्ता जुल्फे गन्धर्वलाई छ ।
गन्धर्वको युवापुस्तालाई पुख्र्यौली पेशाबाट आर्थिक रुपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचानलाई जोगाउन सकिने उनको भनाइ छ ।
गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले गन्र्धवसँगै नेपाली संस्कृतिको एउटा अध्याय मेटिन थालेको समाजसेवी दोलख बहादुर पछाई बताउछन् ।
उनी भन्छन्, “समाजमा भएका विकृतिजन्य अपराधलाई सारंगीको मीठो धुन अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पेशा संरक्षण गर्न सबैले पहल गर्नुपर्छ ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा गन्धर्व समुदायको संख्या ६ हजार ९ सय ७१ रहको छ । यो कुल जनसंख्याको ०.०२ प्रतिशत हो ।
प्रतिक्रिया