दीपा महत, बुद्धभूमि ।
कपिलवस्तुमा सवारी दुर्घटनाका कारण वर्षेनी धेरै जनाले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको पछिल्लो ३ वर्षको तथ्यांक अनुसार २०७९ देखि ०८१ माघ महिनासम्म दुर्घटनामा परी १ सय ८९ जनाको मृत्यु भएको छ । यस्तै तीन हजार चार सय १७ जना घाइते भएका छन् भने दुई हजार १४ सवारी दुर्घटनामा परेका छन् ।
आर्थिक वर्ष २०७९-८० मा सात सय ९६ सवारी दुर्घटनामा परेका छन भने ६७ जनाको मृत्यु भएको छ । सोही अवधीमा दुर्घटनामा परी १ हजार ४ सय ४७ जना घाइते भएका छन् ।
यस्तै आर्थिक वर्ष २०८०-८१ मा ६ सय ९८ सवारी दुर्घटनामा ५८ जनाको ज्यान गएको छ भने १ हजार १ सय २९ जना घाइते भएका छन् । सोही वर्ष सबैभन्दा बढी पुष महिनामा १० जनाले ज्यान गुमाएका थिए ।
चालु आर्थिक वर्ष २०८१-८२ मा भने सवारी दुर्घटना बढेको छ । यसवर्ष बैशाख देखि माघ सम्म मात्रै पाँच सय २० सवारी दुर्घटनामा परे भने ६४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ८ सय ४१ जना घाइते भएका छन् ।
चालु आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै ९३ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने एक सय ७ जना घाइते भएका छन् । यस्तै बैशाखमा ६३ सवारी दुर्घटना हुँदा दश जनाले ज्यान गुमाए भने एक सय १० जना घाइते भएका छन् । जेठ महिनामा ३८ सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाए भने ५९ जना घाइते भएका छन् ।
असारमा ४७ सवारी दुर्घटना भएका छन भने छ जनाले ज्यान गुमाएका छन् ८० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मोहन मणी अधिकारीले बताए ।
भदौमा ४७ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने एक सय ३ जना घाइते भएका थिए । असोजमा ३६ वटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने ५९ जना घाइते भएका थिए ।
चालु आर्थिक वर्षको कार्तिक महिनामा दुर्घटनामा परि सबैभन्दा धेरै ११ जनाको ज्यान भएको छ भने ९३ जना घाइते भएका छन् । उक्त अवधीमा ५६ सवारी दुर्घटनामा परेका हुन् । यसैगरी मंसिरमा दुर्घटनामा परि ८ जनाले ज्यान गुमाएका थिए भने ५८ जना घाइते भएका छन् ।
पुषमा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाए भने ७३ जना घाइते भएका छन् । यस्तै माघ महिनामा ३५ सवारी दुर्घटनामा ३ जनाको मृत्यु भयो भने ५४ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख शंकर चुदाँलीले जिल्लामा हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताए ।
‘दुर्घटनालाई कम गर्न ट्राफिक चेकजाँच, विद्यालयमा ट्राफिक सचेतना अभियान, सवारी साधनको स्थिती र चालकको स्वास्थ्य जाँच, हुस्सुमा सवारी साधनमा स्ट्रिकर टास्ने, मापसे जाँचमा कडाई लगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ, उनले भने ।
जिल्लामा दुई पांग्रे सवारी दुर्घटनामा परी धेरैले ज्यान गुमाउने गरेको भन्दै सडकको अवस्था, तिव्र गति, छाडा पशुचौपाया, चालकमा अनुशासनको कमी लगाएतका कारणले दुर्घटना हुने गरेको प्रमुख चुदाँलीले बताए ।
प्रतिक्रिया