दीपा महत, जितपुर ।
विश्वभर फैलिएको कोरोना भाइरसको कारण व्यापारबाट बिस्थापित व्यवसायी अझै उठ्न सकेका छैनन् । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि गरिएको लकडाउनले धेरै व्यवसायी मर्कामा परेका थिए । धेरैले रोजगारी गुमाए । विदेश पुगेका फर्किए ।
यस्तैको सिकार भएका थिए, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर १ का सुरेश क्षेत्री । कोरोनाको कारण आर्थिक संकट पर्न थालेपछि के गर्ने भन्नेमा अन्योलमा थिए उनी । नेपालमा केही गरौ भन्दा नयाँ आइडिया थिएन उनमा ।
क्षेत्रीकी श्रीमती अम्बिका क्षेत्री भने सिलाई कटाइमा परिपक्क थिइन् । विवाह अघि सिलाईकटाई गर्ने गरेकी अम्बिकाले नेपालमै बुटिक संचालन गर्नुपर्ने योजना बनाइन् ।

‘एकातिर आर्थिक मन्दी, अर्को तिर पसल खोलेर चल्ने हो कि होइन् म दोधारमा थिए, सुरेश भन्छन्, ‘ त्यो समयमा धेरैले व्यापार नगर्न सुझाव दिएका थिए । धेरैले लगानी डुब्छ, पसल नखोल पनि भने । तर हामी जोखिम मोलेरै पसल संचालन गर्न सफल भयौं ।’ श्रीमतिसंग भएको सीप र आत्मविश्वासले आज व्यवसायमा सफल हुन सकेको उनी बताउँछन् ।

उनी थप्छन् म स्वदेश मै केही गर्नुपर्छ भन्ने आत्मबिश्वासमा छु यसले गर्दा हरेक कुरामा सफलता मिल्दो रहेछ । सुरुमा स्थानीयलाई लक्षित गरेर काम गरेका थियौँ। पछि सामाजिक संजालको माध्यमबाट पनि बुटिकको प्रचार प्रसार गर्न सफल भयौं ।

सामाजिक संजालकै कारण आफूहरुलाई स्वदेशमा मात्र नभई बिदेशमा बस्ने नेपाली दाजुभाईले समेत माया गर्ने गरेको उनले बताए।‘हामीले विदेशबाट पनि राम्रो ‘रेस्पोन्स’ पाएका छौँ । जसले गर्दा हामीलाई काम गर्न थप उर्जा मिलेको छ । अहिले अमेरिका, अष्ट्रेलिया, जापान, माल्दिभ्स, दुबई लगाएतका देशबाट हामीलाई अर्डर आउने गरेको छ । विदेशमा रहेका नेपालीलाई लक्षित गरी र केही दिदीबहिनीले स्टोर खोल्नु भएको छु, उनले भने ।’

स्थापनाको छोटो समयमै क्षेत्रीले व्यवसाय गतिविधि बढाइरहेका छन् । बिशेष गरी भदौ, असोज, कार्तिक, मंसिर महिनामा उनको ुगोल्डेन टाइमु हो । यसका साथै माघ, फागुन, बैशाखमा पनि धेरै बुटिकमा समानको धेरै माग हुने गरेको छ ।
अहिले उनले ६ जनालाई रोजगारी समेत दिएका छन् । तीन लाखमा सुरु गरेको व्यवसायबाट उनले हाल मासिक रु एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।

आफूले गरेको आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक कार्यमा समेत खर्च गर्ने गरेको उनले बताए । छोराको जन्मदिन, वैवाहिक बर्षगाठ तथा पसलको वार्षिकोत्सवमा विपन्न असहायलाई सहयोग गर्ने गरेको उनले जनाए ।
परिवारको आपसी समझदारी र विश्वासकै कारण आज व्यवसायलाई निरन्तर संचालन गर्न सकेको अम्बिका बताउँछिन् । ‘म संग सीप त थियो। तर श्रीमानको साथ सहयोग नभएको भए आज यो सफलता मिल्ने थिएन, अम्बिकाले भनिन् ।’

पछिल्लो समय धेरै युवायुवती विदेशिएको सन्दर्भमा अम्बिका भन्छिन्, ‘विदेश जानू कसैको पनि रहर होइन। तर तपाईसंग सीप छ र देशमै केही गरौं भन्ने दृढता छ भने पहिला सीप सिक्नुहोस । सिकेको सीपलाई इच्छाशक्तिका साथ व्यवहारमा उतार्न सके अवश्य सफल हुन सकिन्छ ।स्वदेशमा केही गर्न चाहनेलाई सरकारले पनि विशेष सहयोग गर्नुपर्नेमा उनीहरूको जोड छ ।

प्रतिक्रिया