४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

कपिलवस्तुमा लक्ष्यको ९३ प्रतिशतले लगाए एचपिभी खोप



दीपा महत, जितपुर ।

कपिलवस्तमा लक्षित समुहका ९३ प्रतिशत बालिका र किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन् । डब्लुएचओका खोप संयोजक मोहम्द असलम शैखका अनुसार खोप अभियान अन्तरगत ४४ हजार ४ सय ७१ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ४१ हजार १ सय ७५ जनाले खोप लगाएका हुन् ।

शैखका अनुसार सबैभन्दा धेरै यशोधारा गाँउपालिकामा लक्ष्य भन्दा ९ प्रतिशत बढी बालिकालाई सो खोप लगाइएको छ । यशोधारामा २ हजार ७ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा २ हजार ६ सय ३० जनालाई खोप लगाइएको हो ।

मायादेवी गाँउपालिकामा पनि लक्ष्य भन्दा एक प्रतिशत बढी अर्थात पाँच हजार ४ सय १४ किशोरीलाई उक्त खोप लगाइएको हो । यो पालिकामा पाँच हजार ३ सय ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

महाराजगंज र कृष्णनगरमा शत प्रतिशत किशोरीले एचपिभी खोप लगाएका छन् । महाराजगंजमा चार हजार ८ सय ४४ र कृष्णनगर नगरपालिकाका चार हजार ८ सय ५७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसैगरी सबैभन्दा कम शिवराजका किशोरीले लगाएका छन् । त्यहाका जम्मा ७८ प्रतिशत किशोरीले उक्त खोप लगाएका हुन् । शिवराजमा सात हजार ५ सय २८ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा पाँच हजार ८ सय ५१ जनाले खोप लगाएका हुन् । वाणगंगामा पनि लक्ष्यको ८९ प्रतिशत अर्थात चार हजार ३ सय ५३ किशोरीले खोप लगाएका छन् ।

जिल्लाको बुद्धभूमि नगरपालिका र विजयनगर गाँउपालिकामा लक्ष्यको ९० प्रतिशत किशोरीले खोप लगाएका छन् । बुद्धभूमिका चार हजार १ सय १ किशोरीले एचपिभी खोप लगाए भने विजयनगरका दुई हजार ८० बालिकाले खोप लगाएका छन् ।

शुदोधन गाँउपालिकाका ८५ प्रतिशत किशोरीले उक्त खोप लगाउँदा कपिलवस्तु नगरपालिकाका ९५ प्रतिशतले एचपिभी खोप लगाएका छन् । शद्धोधनमा दुई हजार ४ सय ९२ र कपिलवस्तुमा चार हजार ५ सय ५३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएइएको हो ।

तथ्यांक हेर्दा धेरैजसो पछाडी पर्ने पालिकाका किशोरीको यसपटक एचपिभी खोप अभियानमा उत्साहपूर्ण रुपमा सहभागीता भएको देखिएको छ भने शैक्षिक रुपमा अगाडी देखिएका पालिकाका किशोरीको खोप अभियानमा सहभागिता कम देखिएको छ ।

कपिलवस्तुमा माघ २२ गतेबाट खोप अभियान शुरु गरिएको थियो भने दश पालिकालाई दुई चरणमा बिभाजन गरेर खोप लगाउने कार्य गरिएको खोप संयोजक मोहम्द असलम शैखले बताए ।

फागुन ६ गतेसम्म सञ्चालन गरिएको सो अभियान अन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र बिद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाईएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१ बुधबार ००:००  ८ : २९ बजे