वाणगंगा, कपिलवस्तु । बन उपभोक्ता समूह, स्थानीय सरकार र बन कार्यालय बीच आपसमा समन्वय र सहकार्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सामुदायिक बन उपभोक्ता महासंघ नेपाल वाणगंगा नगर महासंघको दोस्रो नगर परिषद्का अवसरमा बोल्ने बक्ताहरुले बन व्यवस्थापन, नीति कार्यान्वयन, कर प्रणाली तथा उपभोक्ताको अधिकारबारे आफना विचार व्यक्त गरेका छन्। सामुदायिक बनका पदाधिकारी तथा सरोकारवालाले बन कर्मचारीका कारण त्रसित हुनुपरेको बताएका थिए भने समूहको अधिकार पनि कुन्ठित हुदै गएको औल्याएका छन् ।
नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले विगतको तुलनामा सामुदायिक बन उपभोक्ता समूहसंग सहकार्य र समन्वयमा उल्लेख्य सुधार आएको बताउनुभयो। उहाँले बन उपभोक्ता समूहसंग आपसी छलफल र साझेदारीमा काम अघि बढिरहेको जानकारी दिनुभयो। तथापि, बनका केही कर्मचारीका कारण समन्वय नहुँदा नगरको राजस्वमा समेत घाटा भइरहेको उहाँको भनाइ थियो। “बनका कर्मचारीको गैरजिम्मेवार कार्यशैलीले समस्या थपिएको छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थालाई सुधार्दै आगामी वर्षको नीति निर्माणमा ३ तहका सरकारबीच आपसी समन्वय र सुधारको खाचो छ ।”
परिषद्मा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल कपिलवस्तुका अध्यक्ष जयलाल गिरीले उपभोक्ताको अधिकारको रक्षा गर्न महासंघ प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विगतदेखि नै बन सम्बर्धन प्रणाली अपनाएर काम गर्दै आएको तर कतिपय कानुनी जटिलताले समस्या थपिएको उल्लेख गर्नुभयो। “बनका कर्मचारीले आफ्नो अनुकूल नीतिको व्याख्या गर्ने, जटिल बनाउने र कार्यान्वयन गर्ने काम गरिरहेका छन्,” उहाँले बन व्यवस्थापनलाई रोजगारी, उद्यम र समृद्धिसँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
फेकोफनका लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईले सामुदायिक बन उपभोक्ता समूहहरुले ऐनद्वारा प्रत्यायोजित अधिकार पूर्णरूपमा प्राप्त गर्न हुन नसकेको बताउनुभयो। उहाँले बन समूह गैरनाफामूलक संस्था भएकाले सरकारको एकद्धार प्रणालीअनुसार कर लिने तर अरु व्यापारिक संस्थाझैँ कर लगाउन नहुनेमा जोड दिनुभयो। “बन समूह आन्तरिक राजस्व कार्यालयमा दर्ता भई प्यान नम्बर लिई कारोबार गरिरहेका छन्, तर प्रदेश सरकारले बन व्यवस्थापन र राजश्वमा संकलनको नाममा अनावश्यक हस्तक्षेप गरिरहेका छन्,” उहाँले भन्नुभयो।
परिषद्मा बोल्दै उहाँले बनको भौगोलिक अवस्था, सम्भावना र हैसियत अनुसार फरक अवधारणाबाट व्यवस्थापन गर्न सकिने कानुनी प्रावधान रहेको बताउनुभयो। तर कर्मचारीले उपभोक्ता समूहलाई असहज बनाउने, त्रास सिर्जना गर्ने, तथा कार्ययोजना बनाउन अनावश्यक रकम माग्ने जस्ता गतिविधि भइरहेको गुनासो व्यक्त गर्नुभयो। “कार्ययोजना बनाउन अतिरिक्त पैसा दिनु हुँदैन, यस्तो प्रलोभन र त्रासमा नपरी उपभोक्ता सचेत हुनुपर्छ,” उहाँले सुझाउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका निवर्तमान उपाध्यक्ष हरि अधिकारीले बन कर्मचारीले उपभोक्ता समूहलाई विभाजन गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

सोही अवसरमा समुहका अध्यक्ष तथा प्रतिनिधीले कर्मचारीहरुले अनावश्यक हस्तक्षेप गरेर बनमा अन्यौलता आउने गरेको बताएका थिए । महासंघका गतिविधीलाई अवरोध पुरयाउने गरी कार्यक्रमहरु राखेर बाधा सिर्जना गरेको बताएका थिए । बनका सूचनाहरूमा पनि हस्तक्षेप हुने गरेकाे छ । सामुदायिक बन उपभोक्ता महासंघ र बैज्ञानिक बन उपभोक्ता महासंघ बीच फरक फरक व्यवहार हुने गरेकोले सामुदायिक बनका गतिविधीमा प्रभावित पारेको बक्ताहरूले उल्लेख गरेका िथए । यस विषयमा डिभिजन बन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेल आफु बाहीर भएकाले यस विषयमा थाहा नभएको बताए ।
कार्यक्रममा वाणगंगा नगर महासंघका सचिव गीता रेग्मीको सञ्चालनमा तथा अध्यक्ष लेम बहादुर गुरुङको अध्यक्षतामा महासंघको दोस्रो नगर परिषद् सम्पन्न भएको हो। परिषद्ले सामुदायिक बन व्यवस्थापनमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे ठोस छलफल गर्दै भावी नीति निर्माणमा सुझावसमेत संकलन गरेको छ।
प्रतिक्रिया