काठमाडौं ।
आईसीसी महिला टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटको सुपर थ्रीको आफ्नो पहिलो खेलमा नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । मंगलबार भएको सुपर थ्रीको पहिलो खेलमा थाइल्यान्डले यूएईलाई पराजित गर्दै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । अब नेपाल र यूएईमध्ये एक टोलीले मात्रै ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसैले सोमबार हुने नेपाल र यूएईबीचको खेल निर्णायक हुने भएको छ ।
सोमबार बिहान मैदान उत्रिँदा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । यूएईलाई पराजित गरेमा नेपालले एक खेल अगावै ग्लोबल छनोटमा स्थान सुरक्षित गर्ने छ । सोमबारको खेलमा यूएई विजयी भएमा नेपालले अर्को खेलमा थाइल्यान्डलाई पराजित गरे पनि ग्लोबल छनोटमा पुग्ने छैन । यो अवस्थामा यूएईको आठ अंक हुनेछ भने नेपालको सात अंक मात्रै हुनेछ ।
वर्षाका कारण खेल रद्द भएमा नेपाल र थाइल्यान्डबीचको खेल निर्णायक बन्नेछ । अहिले नेपालको पाँच अंक छ भने यूएईको ६ अंक छ । सोमबारको खेल वर्षाले रद्द भएमा नेपालको ६ र यूएईको सात अंक हुनेछ । त्यसपछि सुपर थ्रीको अन्तिम खेलमा थाइल्यान्डलाई पराजित गरेमा नेपाल ग्लोबल छनोटमा पुग्नेछ ।
प्रतियोगितामा सहभागी नौ राष्ट्रमध्ये शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । नौ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ । हरेक समूहका तीन टोलीबीच डबल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गराइएको थियो प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, हङकङ, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् ।







प्रतिक्रिया