दिपा महत, तौलिहवा ।
नेपालमा रहेका अल्पसंख्यक र सीमान्तकृत समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । मंगलबार तौलिहवामा माहुरी होमको आयोजना र जिल्ला समन्वय समिती कपिलवस्तुको समन्वयमा भएको अल्पसंख्यक र सीमान्तकृत समुदाय पहिचान तथा सामाजिक न्याय प्राप्तीको अवस्था विषयक गोष्ठीमा बोल्दै सरोकारवालाले उक्त विषयमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जनगणनाका लागि तथ्यांक संकलनका क्रममा भाषागत त्रुटि भएको भन्दै पालिकासंगको समन्वयमा जिल्लामा रहेका लोपोन्मुख तथा सीमान्तकृत समुदायको तथ्यांक अनुसार काम गर्न सुझाव दिए ।
राज्यका विभिन्न सेवासुविधा बाट बन्चित भएका यी समुदायको संरक्षण गर्दै उनिहरुलाई अधिकार प्रदान गर्नु सबैको दायित्व भएको भन्दै संगै समेटेर लैजानुपर्ने बताए । सीमान्तकृत तथा अल्पसंख्यक समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनको लागि र उनिहरुलाई शिक्षा, स्वास्थ्य लगाएतका सेवामा पहुँच पुर्याउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शिवराजले विपन्न वर्ग, सीमान्तकृत समुदायलाई महत्वका साथ लिँदै काम गरेको बताए । थापाले शिवराजले निःशुल्क शिक्षा कार्यान्वयन गरेपछि १८ सय विद्यार्थी थपिएको भन्दै त्यो संख्यामा विपन्न वर्ग संगै सीमान्तकृत, अल्पसंख्यक समुदाय रहेको बताए । आर्थिक अवस्थाकै कारण शिक्षाबाट कसैलाई बन्चित हुन हामी दिदैनौ उनले भने ।
विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल थापाले विभिन्न क्षेत्रमा पछाडी परेका लोपोन्मुख तथा सीमान्तकृत समुदाय अधिकारबाट बन्चित भएकाले उनिहरुको आवाज उठाउनुपर्नेमा जोड दिए । स्थानीय सरकारले पनि यी समुदायको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
यस्तै बाणगंगा नगरपालिकाकि उप प्रमुख रिता कुमारी चौधरीले राज्यले नै यस्ता समुदायलाई आर्थिक, सामाजिक तथा राजनैतिक रुपमा मूलधारमा ल्याउने योजना बनाएको भन्दै यो कार्यक्रमले उनिहरुको अधिकार प्राप्तीका लागि सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । यस्तै जर्नादन अधिकारीले बास्तविक तथ्यांकको आधारमा काम गर्न सुझाव दिए ।
पीस ब्रीगेड्स इन्टरनेशनल नेपाल (पीबीआई) को सहयोगमा माहुरी होमले कपिलवस्तुसहित दाङ र बाँकेमा अल्पसंख्यकहरुको मानव अधिकारमा दिगो पहुँच र लोपोन्मुख समुदायको संरक्षणका लागि परियोजना संचालन गरेको छ । १५ महिनासम्म संचालन हुने उक्त परियोजनाको कार्य क्षेत्र कपिलवस्तुको बुद्धभूमि नगरपालिका, दाङको राप्ती गाँउपालिका र बाँकेको बैजनाथ गाँउपालिकामा रहेको छ ।
परियोजनाले लुम्बिनी प्रदेशका अल्पसंख्यक र सीमान्तकृत समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा पहुँच बढाउने, विभिन्न अल्पसंख्यक र सीमान्तकृत समुहलाई लोपोन्मुख जातिको समुहमा सुचिकृत गर्ने लक्ष्य राखेको पीबीआईका कार्यक्रम संयोजक रिखिराम हरिजनले बताए ।
हरिजनले अल्पसंख्यक र सीमान्तकृत समुदायको पहिचान गरी उनिहरुको जीवनमा आर्थिक, सामाजिक तथा राजनैतिक परिवर्तन ल्याउदै अधिकार प्राप्तीका लागि काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै माहुरी होमका अध्यक्ष रामदयाल ठाकुरले माहुरी होमले स्थापना देखिनै आवाज बिहिनहरुको आवाज उठाउदै आएको भन्दै नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया कैलाली लगाएतका जिल्लामा काम गरेको बताए । द्धन्दकालको समयदेखिनै निरन्तर समाजबाट पिछडीएका वर्गको हकहितका लागि आवाज उठाउदै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । कपिलवस्तुमा संचालन भएको यस परियोजनाले लक्षित वर्ग लाभान्वित हुने भन्दै सरोकारवालबाट राय संकलनका लागि कार्यक्रम गरिएको बताए । तर कार्यक्रममा सबै जनप्रतिनिधीले समय नदिएको उनको भनाई छ ।
माहुरी होमका अध्यक्ष ठाकुरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन माहुरी होमका फोकल पर्सन रबिन्द्र नाथ ठाकुरले गरेका थिए ।कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, जिससका सदस्य लगाएतको सहभागिता थियो ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार कपिलवस्तुमा ८२ जातजातिका मानिसको बसोबास रहेको छ जसमा ५४ जना अल्पसंख्यक, ३२ सीमान्तकृत, १९ अति सीमान्तकृत, लोपोन्मुख २, सुबिधाबाट बन्चित र सुचिकृत नभएका २ जाती रहेका छन् । यो परियोजनाले लोपन्मुख समुदायलाई सुचिकृत गर्दै सीमान्तकृत समुदायले अधिकार प्राप्त गर्ने विश्वास लक्ष्य राखिएको छ ।
प्रतिक्रिया