२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

भोलिदेखि मुग्लिन-मलेखु सडक राति बन्द



मुग्लिन ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो।​

नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवारी बन्द गर्न लागिएको हो।

बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतेसम्म राति १०-३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए।

नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिनेछन्।

​यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शीतलबजारमा रोकिनेछन्। रोकिएका सवारीसाधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने उनले जानकारी दिए।

प्रकाशित मिति : ३० जेष्ठ २०८२ बिहिबार ००:००  ६ : २४ बजे