२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित



काठमाडौं ।
स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ।

टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।

१ सय ५३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा उति नै रन बनायो र खेल बराबरीमा टुङ्गियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए।

त्यसपछि सूपरओभर भयो। सूपरओभरमा पहिले ब्याटिङ गर्दै नेपालले १ विकेट गुमाएर १९ रन बनायो। जबाफमा २० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १९ रन मात्र बनायो र बराबरी भयो।

अनि फेरि दोस्रो सूपरओभर भयो। दोस्रो सूपरओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १७ रन बनायो। जबाफी ब्याटिङ गर्दै नेपालले ६ बलमा पुनः १७ रन नै बनायो र फेरि बराबरी भयो।

अनि तेस्रो सूपरओभरमा नेपालले सुरुमा ब्याटिङ गर्दै १ रन बनाउनु अगावै २ विकेट गुमायो। अर्थात् नेदरल्यान्ड्सले खेल जित्न जम्मा १ रनको लक्ष्य पायो।

जबाफी ब्याटिङ गर्दै नेदरल्यान्ड्सले १ बलमै ६ रन बनायो र खेल जित्यो।

शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो। नेपालले आज स्कटल्याण्डसँग दोस्रो खेल खेल्दैछ।

प्रकाशित मिति : ३ असार २०८२ मंगलबार ००:००  ८ : २७ बजे