१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह



एजेन्सी ।

इजरायलसँग युद्धविरामका लागि पहल गरिदिन इरानले खाडीका तीन वटा देश– ओमान, कतार र साउदी अरेबियालाई आग्रह गरेको छ ।

शुक्रवारदेखि आक्रमण र प्रत्याक्रमणको शृङ्खला चलेपछि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्सपसँग छलफल गरिदिन आग्रह गरेको इरानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यी तीन देशहरूले पनि अमेरिकासँग नजिकको सम्बन्ध राख्छन् ।

इरानले इजरायल तत्काल युद्धविरामका लागि तयार भए अमेरिकासँगको परमाणु कार्यक्रमसम्बन्धी सम्झौतामा थप लचकता अपनाउने प्रतिबद्धता पनि व्यक्त गरेको रोयटर्सले जनाएको छ ।

परमाणु हतियारसम्बन्धी सम्झौताका लागि ट्रम्पले दिनुभएको अन्तिम समयसीमा सकिनासाथ इजरायलले इरानमाथि आक्रमण शुरू गरेको थियो । इजरायलको पहिलो दिनको आक्रमणपछि ट्रम्प आफैँले पनि इरानलाई परमाणु कार्यक्रमबारे वार्ता र सहमतिका लागि बारम्बार आह्वान गरिरहनुभएको छ ।

इजरायलले पाँच दिनको आक्रमणमा परमाणु संरचना, हतियार कारखाना, आणविक वैज्ञानिकदेखि उच्च सैन्य अधिकारीहरूको समेत हत्या गरेर इरानी सेनाको व्यवस्थापन नै धराशायी बनाइदिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामभन्दा राम्रो कुरा खोजिरहेको बताउनुभएको छ । जी–सेभेन शिखर सम्मेलनबाट फर्कने क्रममा एअर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले युद्धविरामको अपेक्षा नगरेको तर आफूहरू युद्धविरामभन्दा राम्रो कुरा खोजिरहेको बताउनुभएको बीबीसीले जनाएको छ । पत्रकारहरूले युद्धविरामभन्दा राम्रो के हुन्छ भनेर सोध्दा उहाँले वास्तविक अन्त्य चाहेको बताउनुभयो ।

ट्रम्प मध्यपूर्वको समस्या समाधान गर्न र युद्धविरामको पहलका लागि जी–सेभेनको बैठक बीचमै छाडेर वाशिङ्टन फर्कनुभएको हो ।

प्रकाशित मिति : ३ असार २०८२ मंगलबार ००:००  ८ : २१ बजे