२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द



काठमाण्डौ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द भएको छ । विनयी खोलामा पानीको बहाव धेरै भएकाले गाडी चल्न नसकेको नवलपरासी प्रहरीले जनाएको छ ।

अस्ति राति डाइभर्सन बगाएर बन्द भएको सडक हिजो दिउँसोपछि केही खुलेको थियो । ६ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहाँ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।

विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ । दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम हुने, गाडी फस्ने र दुर्घटनाको समेत जोखिम भएकोले सकेसम्म वैकल्पिक रुट प्रयोग गर्न प्रहरीको आग्रह छ ।

यसैबीच बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा आजदेखि १५ दिनका लागि रातिमा यात्रुवाहक गाडी चलाउन रोक लगाइने भएको छ ।

काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले बेलुकी साढे ६ देखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।

प्रकाशित मिति : ७ असार २०८२ शनिबार ००:००  ८ : ०२ बजे