कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको आयोजनामा भएको नगरसभाको १७ औँ अधिवेशनको प्रथम बैठकमा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरको १ सय १७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बहुउद्देश्यीय सभा हल हनुमान चौकमा सम्पन्न नीति कार्यक्रममा नगर प्रमुखले प्रस्तुत गरेको नीतिमा भौतिक पूर्वाधार विकासको क्षेत्र, सार्वजनिक सेवा तथा क्षमता विकास क्षेत्र, आर्थिक विकास क्षेत्र, सामाजिक विकास र वातावरण तथा विपद व्यवस्थापनको विषयमा केन्द्रित रही नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।
श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भौतिक पूर्वाधार तर्फ अधुरा सडक योजनाहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, लागत साझेदारीको कार्यक्रमलाई प्राथमिकता र खरको छानामुक्त अभियानको निरन्तरता दिने जनाएको छ । त्यसै गरी सार्वजनिक सेवा प्रवाह तर्फ काम सम्पन्न भएको ७ दिन भित्र भुक्तानी प्रक्रियाको प्रबन्ध, वित्तीय अनुशासनमा कडाइ, कार्य सम्पादन सम्झौता, भुउपयोग नीति कार्यान्वयन, शून्य बेरुजु नीति कार्यान्वयनका क्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने, छाडा चौपाया व्यवस्थापन र कार्य सम्पादन मुल्याकंनले १७ सूचकले औँल्याएका कार्य गरी उच्चतम अङ्क हासिल गर्ने नगरको नीति रहेको जनाइएको छ ।
आर्थिक विकास तर्फ एक वडा, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता, सिचाई प्रणालीको सुधार, दूध र मासुमा आत्मनिर्भरता, पशु भ्याक्सिनेशन, माटोको गुणस्तर परीक्षण तथा जैविक कृषि कार्यलाई प्रोत्साहन, लघु उद्यमी प्रोत्साहन, पर्यटकीय पूर्वाधार निर्माण र बाल श्रम मुक्त वडालाई दिगोपना सुनिश्चित गर्ने नगरको योजना छ । सामाजिक विकास तर्फ बालमैत्री नगर घोषणाको आधारभूत सूचक पुरा गर्दै जाने, सडक मानव र बालबालिका मुक्त पालिका बनाउने, १५ शैयाको नगर अस्पताल निर्माण पुरा गरी सञ्चालन, पोषण उपचार केन्द्र बिस्तार र खेलकुदका गतिविधिलाई प्राथमिकता दिने जनाइएको छ ।
नीति तथा कार्यक्रमको वातावरण तथा विपद व्यवस्थापन तर्फ विपद प्रतिकार्य तालिममा सहकार्य, डढेलो नियन्त्रण बारे सचेतना, निजी वन दर्तामा प्रोत्साहनको नीति, वास प्लानलाई पूर्णता दिने, टोल टोलमा मासिक सरसफाइ र खोला खोल्सीको जमिन क्षयीकरण न्यूनीकरणलाई प्राथमिकता दिइने उल्लेख छ । सो क्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बुडडी, टिक्कर बिजगौरी सडकको निर्माणका लागी सङ्घीय बजेटको समपुरक अनुदानमा लागत साझेदारी गरिएको, बुड्डी ताल व्यवस्थापन गरी पर्यटन प्रवर्द्धन गर्ने र सबै नगर गौरवका योजनालाई क्रमशः कार्यान्वयनमा लगिएको जनाए ।
अधिवेशनमा उपप्रमुख मिरा थारुले प्रस्तुत गरेको विनियोजन विधेयक सभाले पारित गरेको थियो । उपप्रमुख थारुले आगामी आ.व. २०८२/८३ का लागी १ अर्ब २२ करोड २२ लाख ६१ हजारको अनुमानित आय व्ययको विवरण प्रस्तुत गरेकी थिइन । कार्यक्रममा लेखा समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष गोविन्द प्रसाद आचार्यले अघिल्लो आ।व। को मलेप प्रतिवेदनका आधारमा नगरको आयव्ययको विवरण प्रस्तुत गरी बेरुजु नियन्त्रणमा ध्यान दिनु पर्ने सुझाव दिए । त्यसै गरी विधेयक समितिका संयोजक संदिप कुमार पाण्डेयले नगर सभामा छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण विधेयक २०८२ तथा नदीजन्य पदार्थ व्यवस्थापन विधेयक २०८२ तथा नगरको स्वास्थ्य सेवा ऐन र खानेपानी सरसफाइ ऐनको संशोधन प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया