२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

कांग्रेसले भन्यो-लुम्बिनीमा मन्त्री फिर्ता बोलाउने हल्ला भ्रमपूर्ण



लुम्बिनी ।
नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन लागेको भन्ने हल्लाको खण्डन गरेको छ।

संसदीय दलको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा दलको बैठकमा कुनै छलफल वा निर्णय नभएको स्पष्ट पारेको हो।

आइतबार र सोमबार दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा सांसदहरूले मन्त्री फिर्ता बोलाउन माग गरेको भन्दै प्रचार गरिएपछि कांग्रेसले त्यसलाई भ्रमपूर्ण र खेदजनक भनेको छ।

‘मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्ने विषयमा कुनै छलफल वा निर्णय भएको हैन,’ कांग्रेस प्रमुख सचेतक जमुना ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यथार्थ नबुझी भ्रम सिर्जना गरिनु खेदजनक छ।’

बैठकमा केही सांसदहरूले बजेटमा आफूले सिफारिस गरेका योजनाहरू कटौती भएको भन्दै मन्त्रीहरूसँग असन्तुष्टि भने जनाएका थिए। कांग्रेसले सांसदहरूले मन्त्रीहरूसँग असहमति र अपेक्षा राख्नुलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाको रूपमा लिएको जनाएको छ।

विज्ञप्तिमा प्रदेश सरकारले ल्याएको बजेटसँग जोडिएर देखिएका समस्यालाई लोकतान्त्रिक विधिबाटै सबैको सम्मान हुने गरी समाधान गर्न पार्टीले पहल गरिरहेको उल्लेख छ।

लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसका ५ जना मन्त्री छन्।

प्रकाशित मिति : ९ असार २०८२ सोमबार ००:००  १० : ०६ बजे