कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको बजेट सर्वसम्मतिले पारित गरेको छ । मंगलबार १७ औं नगर सभाको दोस्रो बैठकमा उपप्रमुख रिताकुमारी चौधरीले आर्थिक र सामाजिक विकासलाई प्राथमिकता दिदैं प्रस्तुत गरेको सो बजेट नगरसभाले पारित गरेको हो ।
आगामी आर्थिक वर्ष २०८२।८३ मा बाणगंगाले आर्थिक विकास, सामाजिक विकास र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख चौधरीले बताउनुभयो ।
उहाँले आर्थिक विकासतर्फ ६५ करोड ६४ लाख ८९ हजार ५, सामाजिक विकासतर्फ २५ करोड ८० लाख, भौतिक पूर्वाधारतर्फ ५० करोड ७५ लाख १० हजार ५ सय, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ९ करोड ९० लाख र सुशासन तथा संस्थागत विकासतर्फ २८ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो ।
कुल बजेटको चालुतर्फ ५६ प्रतिशत र पुँजीगततर्फ ४४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
नगरप्रमुख चक्रपाणी अर्यालले स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि निरन्तर बाणगंगावासीको आवश्यकतालाई बुझेर विकास निर्माणका कामलाई तीब्र पारिएको स्मरण गर्नुभयो । बाणगंगाको विकासप्रति सबैले गर्व गर्नुपर्ने बताउनुभयो ।
सडक, विद्युत, खानेपानी, विद्यालय र स्वास्थ्यका भौतिक पूर्वाधार र व्यवस्थापन, महिला, बालबालिकाप्रतिको सशक्तिकरणमा विशेष अभियान संचालन गरेको र त्यसमा नगरले सफलता हासिल गरेको उहाँको भनाई छ । उहाँले गत ५ बर्ष सडक पूर्वाधारलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउँदै अबको प्राथमिकता सामाजिक र आर्थिक विकास भएको बताउनुभयो ।
यस्तै आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट सार्वजनिकिरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि र पर्यटनका माध्यमबाट कपिलवस्तुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमै फड्को मार्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले यहाँको कृषि उर्वर जमिनलाई सदुपयोग गरेर व्यवासयिक कृषि गरेर राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्विक स्थलको प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले विकासको एजेण्डामा सबै बाणगंगावासी एकजुट रहेको बताउनुभयो । यस्तो एकताले बाणगंगावासीलाई छिट्टै समृद्धितर्फ उन्मुख गराउन सकारात्मक भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ । उहाँले बाणगंगा अहिलेको अवस्थामा सफल देखिएको भन्दै अब देशकै सर्वोत्कृष्ट पालिका गराउने गरि लाग्नुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री तथा राजदुत दिपकुमार उपाध्यायले कपिलवस्तु मानव विकास सुचाङ्कमा अन्य जिल्लाको तुलनामा पछाडि परेको बताउनुभयो । टुक्रे योजनाले मात्र जनताको जीवरस्तरमा परिवर्तन ल्याउन नसक्ने बताउँदै उहाँले गौरबका ठूला योजनाले मात्र समग्र कपिलवस्तुलाई विकासको मूल प्रवाहमा ल्याउन सक्ने बताउनुभयो । नेपालबाट भारतमा बगेर जाने पानीलाई भण्डारण गर्न सके यहाँका लाखौ कृषक लाभान्वित हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन उहाँको आग्रह छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेस बाणगंगाका सभापति विष्णु थापा, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतका वक्ताहरुले बाणगंगाले ल्याएको निति तथा कार्यक्रम र बजेट उत्कृष्ट रहेको भन्दै कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
वडा नं।७ का वडाध्यक्ष विष्णु गिरीको संचालामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया